close

खेल पूर्वाधार निर्माणमा मिक्लाजुङ्गको प्राथमिकता

खेल पूर्वाधार निर्माणमा मिक्लाजुङ्गको प्राथमिकता

Trulli
ADVERTISEMENT

मोरङ–स्थानीय सरकार गठनसँगै पालिका तहमा खेलकुदका गतिविधि बढेका छन् । खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी पनि बढाएका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित हुनुअघि एउटा पनि रंगशाला थिएन । खेल मैदान र रंगशाला अभावमा पछि परेको खेल क्षेत्रलाई उकास्न जनप्रतिनिधिले पूर्वाधार निर्माणमा जोड दिइरहेका छन् । गाउँपालिकाले साढे चार वर्षमा ५८ लाख बजेट खेल क्षेत्रमा छुट्याएको छ ।

 

युवा तथा खेलकुद मन्त्रालयले खेल क्षेत्रको विकास गर्न ०७५ मा १५ वर्षे गुरुयोजना तयार गरेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नारा अगाडि सारिए पनि कार्यान्वयन पक्ष फितलो थियो ।  मिक्लाजुङ्ग गाउँपालिकामा त खेल पूर्वाधार शून्य अवस्थामै थियो । मिक्लाजुङ्गका जनप्रतिनिधिले खेल पूर्वाधार निर्माणलाई गति दिन बजेट विनियोजन गरे । पालिकाले खेलकुद क्षेत्रका लागि आव ०७५/७६ मा ७ लाख, आव ०७६/७७ मा १९ लाख, आव ०७७/७८ मा १३ लाख ५० हजार, आव ०७८/७९ मा १९ लाख बजेट विनियोजन गरेको छ । 

 

आर्थिक वर्षको बजेटअनुसार गाउँपालिकामा विभिन्न खेल प्रतियोगिता गर्ने गरिएको छ । विद्यालय तहदेखि नै विभिन्न खेल प्रतियोगिता, वडा तहमा कार्यक्रम आयोजना हुँदै आएको छ । मिक्लाजुङ्ग अध्यक्ष कप फुटबल प्रतियोगितालगायत स्पर्धा गराउँदा वडा तहबाटै प्रतिभावान खेलाडी उत्पादन हुन थालेका छन् । हरेक वडामा खेलमैदान निर्माण गरिएपछि युवा सहभागिता बढ्दै गएको पालिका उपाध्यक्ष सरला राईको भनाइ छ । 


सरकारको लक्ष्य पूरा गर्न जनप्रतिनिधिले गाउँ कार्यपालिका बैठकबाटै पालिकामा रंगशाला निर्माणको निर्णय गरेका थिए । प्रत्येक वडामा खेल मैदान, खेल सामग्री वितरणलाई अगाडि बढाउने योजना सफल हुँदै जाँदा अहिले मिक्लाजुङ्गमा खेल गतिविधिमा वृद्धि भएको छ । फुटबल, भलिबल, ब्याडमिन्टनलगायतका खेल प्रतियोगिता सञ्चालन गर्दै विजेतालाई पुरस्कृत गर्ने क्रम चलिरहेको छ । वडा नम्बर ५ मा मात्रै तीन वटा खेल मैदान निर्माण भएको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष चन्द्रप्रसाद धमाल बताउँछन् ।

 

खेल प्रतियोगिता आयोजना गर्नेदेखि भौतिक पूर्वाधार निर्माण गर्ने क्रमले निरन्तरता पाउँदै गर्दा मिक्लाजुङ्ग रंगशाला निर्माण जारी, बहुउद्देश्यीय ब्याडमिन्टन कर्भडहल निर्माण, सबै वडामा खेल मैदान, प्रत्येक वर्ष वडास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता, मिक्लाजुङ्ग धावन प्रतियोगिता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, विद्यालयमा राष्ट्रपति रनिङ सिल्ड आयोजना, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेल प्रशिक्षकलाई पुरस्कार, जिल्लास्तरीय प्रतियोगिता आयोजना भइरहेका छन् ।

 

यसरी आयोजना गरेका स्पर्धामध्ये गाउँपालिकाको वडा नम्बर ७ ले अध्यक्ष कप फुटबल प्रतियोगितामा दुई पटक प्रथम स्थान हासिल गरिसकेको छ । खेलकुदका माध्यमबाट पहिचान बनाउन र राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत मिल्ने विश्वास जनप्रतिनिधिमा देखिन्छ । पालिकाले खेल मैदानसँगै खुला व्यायामशाला निर्माण गरेको वडा नम्बर ७ का वडाध्यक्ष सुशीलराज चौहानले जानकारी दिए ।

 

खेलकुदमा गरेको लगानीको तथ्यांक, सफलताको सूचीबाटै खेल पूर्वाधार तथा सेवा–सुविधाको पर्याप्तता र गुणात्मकता हासिल गर्न मिक्लाजुङ्ग सफल भएको छ । खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहन गरिएको छ । खेलकुदमा भएको विकास र युवा आकर्षणले सरकारको लक्ष्य हासिल हुनेमा जनप्रतिनिधि ढुक्क छन् ।