close

विकास मोडलमा सफलता पाउँदै सूर्योदय

विकास मोडलमा सफलता पाउँदै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम–कुनै पनि गाउँठाउँको विकास गर्न मूलतः दीर्घकालीन योजना र सही नीति आवश्यक पर्दछ । स्थानीयको आवश्यकता र माग अनुसार विकासका मोडल लागू गर्दा नै दिगो विकास सम्भव छ । यही मूल मर्मलाई आत्मसात गरी इलामको सूर्योदय नगरपालिकाले पूर्वाधार विकासमा आफ्नै मोडल स्थापित गरेर सफलता पाएको छ । 

 

सूर्योदय नगरपालिकाले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । ‘सुदृढ भौतिक पूर्वाधार, समृद्ध नगरको आधार’ नारासहित नगरपालिकाले भौतिक पूर्वाधार क्षेत्रको व्यवस्थित विकासका लागि एकीकृत नगर विकास गुरुयोजना निर्माण गरेर काम गर्दै आएको छ । बाह्रैमास यातायात सञ्चालन गर्ने गरी सडक कालोपत्रे गर्ने नगर गौरवको योजना अवलम्बन गरेको छ । 

 

यी योजनालाई पूरा गर्न नगरपालिकाले हालसम्म १ अर्बभन्दा बढी लगानी गरेको छ । हरेक आर्थिक वर्षमा छुट्याइएका बजेटले भौतिक पूर्वाधारको प्रगति उकालो लागेको छ । नगरपालिकाले आव ०७६/७७ मा १ अर्ब ९ करोड ७७ लाखमध्ये पूर्वाधारतर्फ विनियोजित बजेट ३२ करोड रुपैयाँ, आव ०७७/७८ मा कुल बजेट १ अर्ब २७ करोड १४ लाखमध्ये पूर्वाधारतर्फ ३५ करोड, आव ०७८/७९ मा १ अर्ब २९ करोड बजेटमध्ये पूर्वाधारतर्फ ४४ करोड ५१ लाख २६ हजार छुट्याएको छ ।

 

क्षेत्रगत बजेट विनियोजनअन्तर्गत पूर्वाधार विकासमा कुल विनियोजित बजेटको २८ दशमलव १७ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ५२ प्रतिशत प्रगति भएकामा आर्थिक वर्ष ०७७/७८ मा ५८ प्रतिशत प्रगति भएको छ । कोभिडका कारण केही समय पूर्वाधार निर्माणमा अवरोध आए पनि यो तथ्यांकले प्रगति सन्तोषजनक देखाएको नगरपालिकाका योजना अधिकृत खेमराज राई बताउँछन् ।

 

भारतसँग सीमा जोडिएको सूर्योदयका केही वडामा पुग्न अझै पनि भारतकै सडक प्रयोग गर्नुपर्छ । त्यसैले नगरपालिकाले सबै वडामा नेपाली भूमिबाटै सडक लैजाने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार सडक कालोपत्रे, कच्ची सडक निर्माण र सडक स्तरोन्नतिमा पालिकाले प्रगति हासिल गरेको छ । 

 

नगरपालिकाले पूर्वाधार विकासतर्फ २ दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, ४ दशमलव ६ किलोमिटर कच्ची सडक निर्माण, २७ दशमलव २ किलोमिटर सडक स्तरोन्नति, ११ दशमलव ५ किलोमिटर सडक ग्राभेल, ५२ वटा सडक मर्मत–सम्भार, १३ वटा वडा कार्यालय भवन निर्माण, १२ वटा स्वास्थ्य चौकीको भवन निर्माण, सार्वजनिक सम्पत्तिको मर्मत–सम्भार, एक वडा एक बाह्रमासे सडक निर्माण, २२ वटा आयोजना सञ्चालन गरिरहेको छ ।

 

यीबाहेक नगरपालिकाले पशुपति बसपार्क र फिक्कल बसपार्क निर्माण गरेको छ ।  श्रीअन्तु, कन्याम, फिक्कलमा पर्यटकीय पूर्वाधार निर्माण भएका छन् । वडा–वडामा सडक निर्माण गर्दा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सहज भएको छ ।  नगर चक्रपथको ट्र्याक खोल्ने काम जारी छ । दीर्घकालीन योजना निर्माण गर्ने सूर्योदय मोडललाई अहिले अन्य पालिकाले समेत अनुशरण गर्दा सन्तुष्टि मिलेको नगरप्रमुख रणबहादुर राईले बताए ।

 

नगरपालिकाको कुल सडकको लम्बाइ ६ सय ७२ किलोमिटर हो । अहिले वार्षिक २४ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सूर्योदयको विकास मोडल र प्रगति हेर्दा दिगो विकास लक्ष्य प्राप्त गर्न जनप्रतिनिधि सफल हुँदै गएका छन् ।