close

सूर्योदयका घरघरमा छ्यालब्याल खानेपानी 

सूर्योदयका घरघरमा छ्यालब्याल खानेपानी 

Trulli
ADVERTISEMENT

इलाम–इलामको सूर्योदय नगरपालिकाभित्रका  ९४ प्रतिशत घरधुरीले पाइप प्रणाली तथा धाराबाट खानेपानी सुविधा उपयोग गरिरहेका छन् । यसअघि खानेपानी योजना व्यवस्थित नहुँदा ४० प्रतिशत घरधुरी स्वच्छ पिउने पानीबाट वञ्चित थिए । तर, नगरपालिकाले ‘एक घर एक धारा’ नीति अवलम्बन गरी पञ्चवर्षीय आवधिक योजना बनाएर अघि बढ्दा अहिले खानेपानी तथा सरसफाइ सुविधामा नागरिकको पहुँच विस्तार भएको छ । 

 

सूर्योदय नगरपालिकाभित्र सबै वडाका खानेपानी योजना व्यवस्थित नभएका कारण करिब ६० प्रतिशत घरधुरीले मात्र सहज रूपमा खानेपानी सुविधा पाएका थिए । स्वच्छ तथा सुरक्षित खानेपानी वितरणमा थप प्रयास आवश्यक थियो । जनप्रतिनिधिले यो समस्या अन्त्य गर्न २०८१ भित्र सम्पन्न गर्ने गरी आवधिक योजना निर्माण गरे । 

 

अहिले नगरपालिकाले संघीय सरकारको सहयोगमा ६६ करोड रुपैयाँ लागतमा बृहत् खानेपानी योजना अघि बढाएको छ । यो योजना सम्पन्न भएपछि कन्याम, लक्ष्मीपुर, पञ्चकन्यालगायतका १४ वटै वडाका उपभोक्ता लाभान्वित हुनेछन् । जनप्रतिनिधि आएपछि पहिलो वर्ष नै खानेपानी मुहान संरक्षण अभियान अघि बढाएर पानीको स्रोत संरक्षण गर्ने काम भइरहेको नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष पेमा उगेन लामाको भनाइ छ ।

 

आवधिक योजनासँगै नगरपालिकाले खानेपानी र सरसफाइका लागि ऐन र कानुन निर्माण गरेको छ । नगरपालिकाले ‘एक घर एक धारा, एक शौचालय’ को नीति अवलम्बन गरेर खानेपानी र सरसफाइको क्षेत्रमा एकैसाथ काम अघि बढाएको छ । नदी, खोला तथा सार्वजनिक स्थलमा फोहोर फाल्न रोक लगाउने, दण्ड जरिमाना गर्ने नीति लागू गरिएको छ । खानेपानीको स्थानीय मुहान संरक्षण तथा त्यस आसपास पानीप्रदायक वनस्पति रोप्ने कार्यक्रम अघि बढाइएको छ । अहिले नगरपालिकाले वार्षिक ५० हजार स्थानीय जातका विभिन्न बिरुवा रोप्ने अभियान चलाएको सूर्योदयका नगरप्रमुख रणबहादुर राईले बताए ।

 

वातावरण सफा राख्न नगरपालिकाले सोलिड बेस्ट म्यानेजमेन्ट सिस्टमलाई अग्रगामी परियोजनाका रूपमा अघि बढाएको छ । पर्यटकीय क्षेत्रमा फोहोर फाल्ने डब्बा राखेर दैनिक बजार क्षेत्रको फोहोर उठाउँदै आएको छ । कुनै बेला फोहोरले दुर्गन्धित हुने बजार क्षेत्र अहिले सफा देखिन थालेको वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए ।

 

विकासका लागि खानेपानी, शौचालय तथा सरसफाइ महत्वपूर्ण हुन्छ । सरकारले १५औँ राष्ट्रिय योजनामा सबैलाई आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्दै गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । खानेपानीका स्रोत संरक्षण, स्वच्छ वातावरण निर्माण गर्ने रणनीतिअनुसार सूर्योदयले योजना बनाउँदा सरकारी लक्ष्य हासिल हुने देखिन्छ ।