close

पूर्वाधार निर्माणमा मिक्लाजुङ्गको छलाङ

पूर्वाधार निर्माणमा मिक्लाजुङ्गको छलाङ

Trulli
ADVERTISEMENT

मोरङ– स्थानीय सरकारले भौतिक संरचना निर्माण र सडक सञ्जालको विस्तारलाई प्राथमिकतामा राखेरै बजेटको ठूलो हिस्सा यसमा लगाइरहेका छन् । विकासको मेरुदण्ड मानिने सडक निर्माणलाई प्राथमिकता दिएकै कारण विकट क्षेत्रका घरगाउँमा यतिबेला चिल्ला सडक देख्न सकिन्छ । २०७४ को स्थानीय तहको निर्वाचनमा मोरङको मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले आप्mनो घोषणापत्रमा सडक, बत्ती, खानेपानी, सिँचाइ, पुल, वडा कार्यालय, स्वास्थ्य चौकी, अस्पताल निर्माणको प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नागरिकसमक्ष व्यक्त गरेका कतिपय प्रतिबद्धता पूरा भए भने केही समापनको चरणमा छन् ।

 

मिक्लाजुङ्ग गाउँपालिकाको केन्द्र हो मधुमल्ला । बजार क्षेत्र अस्तव्यस्त थियो । सडक कालोपत्रे थिएन । विभिन्न खोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेरै वारपार गर्दै आएका थिए । आफ्नो गाउँठाउँमा पनि विकास हुने अपेक्षा गरेर जनप्रतिनिधिलाई जिताएका नागरिकले अहिले यसको प्रतिफल पाएका छन् । स्थानीय सरकार बनेसँगै जनप्रतिनिधिले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दा अहिले गाउँमा पूर्वाधार निर्माणको लहर छाएको छ । 

 

पालिकाभित्र साढे चार वर्षमा ७ सय किलोमिटर सडक ग्राभेल, ९ वटै वडाबाट पालिकाको केन्द्र जोड्न सडक ग्राभेल, १० किलोमिटर कालोपत्रे सडक निर्माण, सफेवा खोला, साबो, बक्राहा, मगर, नुनसरी र मावा खोलासहित सात स्थानमा मोटरेबल पुल निर्माण, ७ वटै वडा कार्यालयको प्रशासनिक भवन निर्माण, १० शय्याको आधारभूत अस्पताल निर्माण सुरु, सबै वडामा विद्युतीकरण, आर्थिक वर्ष ०७७÷७८ मा साढे ६ किलोमिटर सडक कालोपत्रे, तीन तले प्रशासनिक भवन निर्माण भएका छन् ।

 


मधुमल्ला बजार व्यवस्थित बनेको छ । सबै वडा यातायातको सञ्जालसँग जोडिएका छन् । पालिकाको तथ्यांकअनुसार ७ सय किलोमिटर सडक ग्राभेल र १० किलोमिटर सडक कालोपत्रे भएको छ । विकास गाडी गुडेर आउँछ भनेझैँ सडक बनेसँगै विकास भित्रिँदै जाँदा सन्तुष्ट हुने अवस्था सिर्जना भएको पालिकाको वडा नम्बर ६ का स्थानीय डिल्लीराम खड्का बताउँछन् ।

 

नागरिकको दैनन्दिनका समस्या समाधान गर्न पालिका, वडा कार्यालय भवन अभाव थियो । नागरिकलाई चाहेको समय सेवा दिन पालिकाले संरचना निर्माण ग¥यो । शिक्षा, स्वास्थ्य, विद्यालय भवन, खेल मैदान, निर्माणमा तीव्रता दिइयो । साढे चार वर्षमा निर्माण गरिएका संरचनाबाट अब नागरिकले सहज ढंगले सेवा पाउने अवस्था सिर्जना भएको वडा नम्बर ७ का वडाध्यक्ष सुशीलमान चौहानको दाबी छ ।

 

बाढीको जोखिम, वर्षायाममा उर्लेर आउने भेलबाट नागरिक सधैँ समस्यामा थिए । यो समस्या हटाउन नागरिकको निरन्तरको दबाबपछि जनप्रतिनिधिकै पहलमा अहिले सात नदीमाथि पुल बनेका छन् । कल्भर्ट निर्माण भएका छ । केही पूर्वाधार निर्माणका लागि उपभोक्ता समितिमार्फत काम भएका छन् भने केही योजना ठेक्कामा गएका छन् । पालिकामा अहिले पनि धेरै संरचना निर्माणको चरणमै छन् । तर, ती सबैलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजनासहित खटिँदै आएको गाउँपालिकाका इन्जिनियर हसरत अलीको भनाइ छ ।

 

गाउँका सबै वडा सडक सञ्जालमा जोडिएसँगै नागरिकलाई काम विशेषले पालिका मुकाम आउनुपर्दा घन्टौँ हिँड्नुपर्ने बाध्यता अन्त्य भएसँगै सन्तुष्टि मिलेको पालिका अध्यक्ष देवीप्रसाद आचार्यले सुनाए । 

 

सडक नहुँदा स्थानीयले समस्या भोगिरहेका थिए । दिगो विकासको लक्ष्य लिएर पालिका अघि बढेपछि पूर्वाधार निर्माणले गति लिएको छ । पूर्वाधार विकासले दिगो औद्योगिकीकरणको आस स्थानीय र जनप्रतिनिधिमा जगाएको छ । दिगो विकास लक्ष्यअन्तर्गतकै सहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित र दिगो बनाउने मिक्लाजुङको संकल्प पूरा हुँदै गएको छ ।