close

सडक र भौतिक पूर्वाधार निर्माणले समृद्धि पछ्याउँदै म्याङलुङ

सडक र भौतिक पूर्वाधार निर्माणले समृद्धि पछ्याउँदै म्याङलुङ

Trulli
ADVERTISEMENT

तेह्रथुम–सडक निर्माणलाई विकासको पहिलो खुड्किलोका रूपमा लिने गरिन्छ । भौतिक पूर्वाधार निर्माणमा लगानी बढ्दा स्थानीय तह समृद्ध बन्दै जान्छन् । तेह्रथुमको म्याङलुङ नगरपालिकाले सडक र भौतिक पूर्वाधार निर्माणलाई जोड दिँदा नगर समृद्ध बन्ने लयमा अघि बढेको छ । 

 

म्याङलुङ नगरपालिकाले अहिले नगरभित्रको सबै टोलमा पुग्ने गरी सडक बाटो पुर्‍याएको छ । हिँउद महिना सबैतिर सानातिना यातायातका साधन पुग्छन् । यसलाई बाह्रै महिना गाडी चल्ने बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफे बताउँछन् ।

 

नगरपालिका पहाडी भेगमा अवस्थित भएकाले यहाँ लेकदेखि बेँसीसम्मको भूगोल छ । यी सबै क्षेत्रको यात्रालाई सहज बनाउन चक्रपथको ट्रयाक खोलिएको नगरप्रमुख तुम्बाहाङफेको भनाइ छ । 

 

नगरपालिकाले निर्माण गरेको चक्रपथको लम्बाइ ४६ किलोमिटर छ । यसले नगरको १० वटै वडालाई समेट्छ । यो सडकका कारण सबै वडाका नागरिक नगरपालिकाको सदरमुकाम सजिलै आउजाउ गर्न सक्छन् । यो नगरपालिकामा मध्य पहाडी सडक खण्ड पनि पर्ने भएकाले यसले आउजाउलाई थप सहज बनाउनेछ । 

 

यो सडकबाट नगरपालिकाका टोल जान खनिएका विभिन्न बाटोको स्तरोन्नति  भइरहेको छ । निर्माण तथा भौतिक संरचनाको हिसाबले नगरपालिकाले अन्य क्षेत्रमा पनि काम गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर २ मा फुटबल रंगशाला निर्माण गरिरहेको छ । यसले नगरको मात्र नभएर सिंगो तेह्रथुको फुटबल विकासमा सघाउने नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर सुमन खड्काले जानकारी दिए ।

 

नगरको फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट र नमुना विद्यालय भवन निर्माण अगाडि बढेको छ । दुई ठूला र १० भन्दा बढी साना सिँचाइ आयोजनाको काम अघि बढेको छ । यी आयोजनाले ८, ९, ४ र ३ नम्बर वडामा सिँचाइ सुविधा पुर्‍याउनेछ । वडा नम्बर ९ र ४ को सिमानमा बहुप्राविधिक शिक्षालय भवनका लागि जग्गा व्यवस्था भएर निर्माण योजना बन्दै छ ।  प्रदेश सरकार, स्थानीय सहकारी र नगरपालिकाको लागत साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए ।

 

नगरपालिकाले निर्माण गरेको भौतिक पूर्वाधारले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पनि सहयोग गरेको छ । आर्थिक स्थितिलाई सबल बनाउन सक्ने आधारशिला तयार भएको छ । स्थानीय सरकारले पनि मुलुकको विकासमा धेरै उपलब्धि हासिल गर्न सक्छन् भन्ने उदाहरण म्याङलुङले प्रस्तुत गरिरहेको छ ।