close

दुई वर्षभित्रै कर्णाली प्रदेशका घरघरमा बिजुली

दुई वर्षभित्रै कर्णाली प्रदेशका घरघरमा बिजुली

Trulli
ADVERTISEMENT

काठमाडौंं– नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् सुविधाको पहुँच दिने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्र विद्युतको पहुँच दिलाउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ । 

 

कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत् पुग्न सकेको छैन । नगरपालिका र गाउँपालिका कुल ७१८ वडामध्ये ३९३ मा विद्युत् पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भौगोलिक कठिनाइ तथा विकटताले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणमा केही ढिलाइ भए पनि अब दुई वर्षभित्र सबैको घरधुरीमा विद्युत् पु¥याउने गरी काम भइरहेको बताए । कार्यकारी निर्देशक घिसिङले राष्ट्रिय प्रसारण लाइन पु-याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघु जलविद्युत्बाट विद्युतीकरण गरिने जानकारी दिए ।

 

‘कर्णालीमा विद्युतीकरणको खर्च र यहाँ खपत हुने विद्युत्को आम्दानीबाट लागतसमेत उठ्दैन, तर सबैको घरमा विद्युत पु¥याउने राज्यको दायित्व भएकाले नाफा नोक्सान नहेरी विद्युत्लाई आधारभूत आवश्यकताको वस्तुको रूपमा लिएर काम गरिरहेका छौँ,’ घिसिङले भने । 

 

सरकारले एसियाली पूर्वाधार लगानी बैंक र युरोपेली लगानी बैंकबाट करिब २५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गर्दै छ । सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत् पहुुँच विस्तारमा खर्च भइरहेको उनको भनाइ छ ।

 

चालू आव ०७८/७९ मा कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ६४ करोड रुपैयाँ बजेट रहेको छ । एआइआईबी र इआईबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणबाट विद्युतीकरण गर्न ठेक्का प्रक्रिया सुरु भएको छ । ठेकेदारले काम नगरिदिँदा पनि विद्युतीकरणमा समस्या छ । काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने र नयाँ प्रक्रियामार्फत ठेकेदार छनोट गरी विद्युतीकरण गरिने घिसिङले बताए ।

 

प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालीकोट र जुल्लामा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र हुम्ला, मुगु र डोल्पामा लघु जलविद्युत्मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।

 

३३ र ११ केभी लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति भइरहेकाले ट्रिपिङ हुँदा लाइन जाने र न्यून भोल्टेजको समस्या पनि छ । बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यो प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । 

 

कर्णाली प्रदेशका जिल्लामा विद्युत् आपूर्तिका लागि ११ वटा ३३÷११ केभी वितरण सबस्टेसन निर्माणको चरणमा छन् । कोहलपुर–सुर्खेत–दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा मा १३२÷३३÷११ केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । 

 

५५ प्रतिशत ग्राहकले उपभोग गर्छन् निःशुल्क विद्युत् 

 

विद्युत् पहुँच पुगेका कर्णाली प्रदेशका करिब ५५ प्रतिशत घरधुरीले २० युनिटसम्मको निःशुल्क विद्युत्को सुविधा उपभोग गरिहेका छन् । यो प्रदेशमा प्राधिकरणका १ लाख १४ हजार ३ सय ग्राहकमध्ये ६२ हजार ६ सय घरायसी ग्राहकले निःशुल्क विद्युत् सुविधा उपभोग गरिरहेका हुन् ।

 

सरकारले ५ एम्पियरमिटर राख्ने घरायसी ग्राहकलाई २० युनिटसम्मको ऊर्जा निःशुल्क गरेको छ । त्यस्ता ग्राहकले न्यूनतम ३० रुपैयाँ तिर्नुपर्छ । प्राधिकरणको विद्युत् बिक्रीबाट गर्ने आम्दानीमा ०.८ प्रतिशत हिस्सा कर्णाली प्रदेशको छ । 

 

कालीकोटमा सबस्टेसन सञ्चालनमा 

 

कालीकोटमा अस्थायी रूपमा निर्माण गरिएको ३३÷११ केभी, ३ एमभीए क्षमताको सबस्टेसन आइतबारबाट सञ्चालनमा आएको छ । दैलेख–कालीकोट करिब ६६ किलोमिटर ३३ केभी लाइन पनि सञ्चालनमा ल्याइएको छ । कालिकोटमा ३३÷११ केभी सबस्टेसन पनि निर्माणाधीन छ । 

 

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैत यादवका अनुसार अस्थायी सबस्टेसन सञ्चालनमा आएपछि कालीकोट र जुम्लाको विद्युत् आपूर्तिमा सुधार हुनेछ । ‘अहिले दैलेखबाट करिब १५० किलोमिटर लामो ११ केभी लाइनबाट जुम्लामा विद्युत् आपूर्ति भइरहेको थियो । अब यस सबस्टेसनबाट दिँदा जुम्ला र कालीकोटको विद्युत् आपूर्तिमा सुधार हुनेछ’, प्रमुख यादवले भने, ‘कुनै एक ठाउँमा अवरोध हुँदा पूरै क्षेत्रमा बत्ती जाने अवस्था पनि कम हुनेछ ।’अहिले जुल्लामा समस्या आए कालीकोट र दैलेखको पनि बत्ती जाने अवस्था छ ।