मोरङ– स्थानीय तहमा स्रोत–साधन अभावका कारण जनप्रतिनिधिले काम गर्न नसक्दा नागरिकले गुनासो गरिरहेका हुन्छन् । तर, मोरङको मिक्लाजुङ गाउँपालिकाले भने पालिकाभित्र पूर्वाधार निर्माण गरेर गाउँलाई सुगम बनाउने गरी गौरवका योजना अघि बढाइरहेको छ । पाँच वर्षमा ११ करोड खर्च गर्दा गाउँपालिका समृद्धिको यात्रातर्फ अघि बढेको छ ।
मधुमल्ला मोरङकै पुरानो बजार हो । यातायात सुविधा नहुँदा यो बजार आइपुग्न स्थानीयले निकै सास्ती भोग्नुपथ्र्यो । जनप्रतिनिधिको पहलकै कारण अहिले बजारसम्म पुग्ने सडक कालोपत्रे भएको छ । नागरिकको आउजाउ बढ्न थालेसँगै बजार गुल्जार बन्न पुगेको छ । पूर्वाधार निर्माणलाई गाउँको गौरवको रूपमा जनप्रतिनिधिले चिनाएका छन् । गाउँपालिकाले छविचोकदेखि भण्डारीचोक सडक खण्डलाई कालोपत्रे गरेको छ । नदीमा पक्की पुल बनाएर सबै वडासँग सडक सञ्जाल जोडेको छ । अहिले गाउँपालिकाको ९ वटै वडामा एम्बुलेन्स पुगेको छ भने बाह्रै महिना सडक सञ्चालनमा आउन थालेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
कृषिका लागि जमिन उर्वर भए पनि बजारीकरणको समस्या थियो । स्थानीय कृषकले उत्पादन गरेका उपज सडकको दुरावस्थाले बजार पु¥याउन मुस्किल हुने गर्दथ्यो । सडक सञ्चालनमा आएपछि उत्पादन बजारसम्म लैजान सक्ने अवस्था बनेको छ । गाउँपालिकाको तथ्यांकअनुसार सबै वडाका गरी कुल ७ सय किलोमिटर सडक ग्राभेल भइसकेको छ । सडकका कारण सबैभन्दा प्रताडित वडा नम्बर १, वडा नम्बर २ का बासिन्दा अहिले हर्षित छन् । त्यसबाहेक वडास्तरमा जनप्रतिनिधिले सडक विस्तार, कालोपत्रे र ड्रेन बनाउने काम गर्दै आएको वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र मादेन लिम्बूको भनाइ छ ।
गाउँपालिकाले पूर्वाधारमा आव ०७४/७५ मा १ करोड २० लाख, आव ०७५/७६ २ करोड, आव ०७६/७७ ३ करोड ५० लाख, आव ०७७/७८ मा २ करोड ५० लाख, आव ०७८/७९ १ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले आफ्ना योजना पूरा गर्न आर्थिक वर्ष ०७६/७७ मा सबैभन्दा बढी बजेट विनियोजन गरेको थियो । कार्यकालको अन्तिम आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने आयोजनाका लागि भने कम बजेट विनियोजन गरेको छ । हालसम्म गौरवका आयोजना सम्पन्न गर्न ११ करोड खर्च भएको छ । यो रकममा संघीय र प्रदेश सरकारको अनुदानले पनि सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए ।
गौरवशाली योजनामा कुनै अवरोध आउन नदिन साझा संयन्त्र र उपभोक्ता समिति गठन गरियो । हरेक आयोजनामा छलफल गरेर अघि बढ्दा अहिले त्रुटिरहित काम हुँदा मिक्लाजुङबासीमा खुसीको सञ्चार भएको प्रमुख प्रशासकीय अधिकृत राईको दाबी छ ।
गाउँमा रहेका नदी तथा खोलाको पूर्वाधार र नदी नियन्त्रणमा दिगोपना तयार हुँदै गएको छ । पालिकाका सबै क्षेत्रमा विद्युत् पहुँच पुगेको छ । सरकारको १५औँ राष्ट्रिय योजनामा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमलाई अघि बढाउने नीति लिइएको छ ।