close

कालोपत्रेले टल्किँदै रंगेलीका सडक 

कालोपत्रेले टल्किँदै रंगेलीका सडक 

Trulli
ADVERTISEMENT

मोरङ– सडक यातायातसँगै अन्य भौतिक पूर्वाधार निर्माण आर्थिक तथा सामाजिक विकासको मूल सर्त हो । वर्षैभरि सवारी गुड्न सक्ने सडक निर्माण हुन सके यसबाट नागरिकले प्रत्यक्ष फाइदा लिन सक्छन् । पाँच वर्षमा मोरङको रंगेली नगरपालिकाले सडक निर्माणलाई प्राथमिकता दिएकै कारण नगरभित्र सडक सञ्जाल विस्तारले सफलता पाउँदै गएको छ । 

 

रंगेली नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउँदा कुनै पनि सडक कालोपत्रे थिएनन् । अधिकांश सडक ग्राभेल हुँदा हिउँदमा धुलाम्य हुन्थे । सडकको चौडाइ नहुँदा नगरभित्र दमकल र एम्बुलेन्स पुग्ने अवस्था थिएन । तर, अहिले सडकको स्तरोन्नति भएको छ । १ सय किलोमिटर सडक कालोपत्रे भएको छ भने प्रत्येक वडा कार्यालयसम्म पुग्ने बाटो २० फिटको बनाइएको छ । अब बस्तीमा एम्बुलेन्स र दमकल सहजै प्रवेश गर्न सक्छन् । नगरले उपभोक्ता समिति गठन गरेर नागरिककै सहभागितामा विभिन्न उपभोक्ता समितिमार्फत काम गर्दै आएको छ । अहिले संघीय र प्रदेश सरकारका सडक योजना पनि रंगेलीमा सञ्चालन भइरहेको नगरपालिकाका इन्जिनियरद्वय विशाल शर्मा र श्यामसुन्दर सिंहले बताए ।

 

प्रत्येक वडामा दुई किलोमिटर सडक कालोपत्रे गर्ने जनप्रतिनिधिको प्रतिबद्धता पूरा भएको छ । सोही लक्ष्यबमोजिम भारतसँग साँधसीमा जोडिएका सीमा क्षेत्रसम्म सडक कालोपत्रे भएका छन् । सडकलाई चिल्लो र आकर्षक बनाउने काम पनि नगरपालिकाले गरेको नगरप्रमुख दिलीपकुमार अग्रवालले जानकारी दिए ।

 

हुलाकी राजमार्ग निर्माणमा देखिएको अवरोध हटाउँदै जनप्रतिनिधिले सडक फराकिलो र चिल्लो बनाएका छन् । सडक पूर्वाधारकै लागि हालसम्म कल्भर्ट तथा पुलपुलेसा मात्रै ३५ वटा निर्माण भएका छन् । नगरभित्रका विभिन्न २९ वटा सडक कालोपत्रे भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कार्कीको भनाइ छ ।


रंगेली झापा हुलाकी सडक, गान्धी मनमोहन मार्ग हुलाकी सडक, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विस्तार कार्यक्रमलगायतका ठूला सडक सञ्जालका परियोजना पनि नगरपालिकामा सम्पन्न भएका छन् । नगरपालिकाले लिएको योजनाले वडा–वडामा सडक निर्माण भएको वडा नम्बर २ का वडाध्यक्ष जितनारायण खवास र वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलले बताए ।

 

संघीय सरकारले ७ वटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने लक्ष्य लिएको थियो । संघीय सरकारको लक्ष्यलाई रंगेलीमा निर्माण भएका सडकले पछ्याएको देखिन्छ । सडक पूर्वाधारमा रंगेलीको प्रयास प्रशंसनीय छ ।