close

सडक, पूर्वाधार निर्माण गरेर नगरको गौरव बढाउँदै म्याङलुङ 

सडक, पूर्वाधार निर्माण गरेर नगरको गौरव बढाउँदै म्याङलुङ 

Trulli
ADVERTISEMENT

तेह्रथुम– अहिले ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्ना  पालिका तथा नगरको गौरव बढाउने गरी सुरु गरेका विकास निर्माणले गति लिँदै गरेको अवस्था छ । यसले आर्थिक विकासमा मात्र नभई नागरिकको जीवनस्तरमा समेत ठूलो सहयोग पुगेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका पनि सडक, संस्कृति र पूर्वाधार निर्माण गरेर नगरको गौरव बढाउन सफल भएको छ । 


म्याङलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै नागरिकले पाउने दैनिक सेवा–सुविधा सहज भएको छ । नगरको शासन प्रणालीमा नागरिकका आवाज सम्बोधन भएका छन् । नगर गौरवका योजना र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । ‘एक वडा एक सडक’ र ‘म्याङलुङ नगर सडक गुरुयोजना’ निर्माण गर्ने नीति अवलम्बन गरेर अघि बढेको पाइएको छ । 

 

७६२ मेगावाटको तमोर हाइड्रोलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा कायम गर्न संघीय सरकारलाई आग्रह गरिएको छ । यो आयोजना निर्माण हुँदा सिंगो नगरबासीले समृद्धि हासिल गर्नेमा दुई मत छैन । तर, यी सबै योजना बहुवर्षीय भएकाले निर्माणाधीन छन् । नगरपालिकाले रिङ रोड तथा प्रत्येक वडा जोड्ने लिंक रोडलाई गौरवको आयोजनामा समावेश गरेर बजेट विनियोजन गर्दै काम गरेको छ । यसले नगरबासीलाई धेरै सहज भएको नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर सुमन खड्का बताउँछन् ।

 

पूर्वाधार क्षेत्रमा मात्र नभई सांस्कृतिक र कलाकौशलले पनि नगरको गौरव बढाइरहेका छन् । नगरमा उत्पादन हुने ढाका कपडालाई नगरपालिकाले आफ्नो पहिचान र विशेष वस्तुको रूपमा प्रवद्र्धन गरिरहेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले जानकारी दिए ।

 

ढाका कपडामा काम गर्नेलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदान  उपलब्ध गराउन थालेको छ । ढाका कपडाको उत्पादनलाई एकीकृत गर्न म्याङलुङ बजारमा कोसेली घर सञ्चालन गरिएको छ । अहिले ढाकाकै झोला तथा लगाउने जुत्ता निर्माण सुरु गरिएको छ । उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न १० करोडमा औद्योगिक ग्राम निर्माण गर्ने जनप्रतिनिधिको योजना छ । आर्थिक वर्ष ०७६/७७ देखि सुरु भएको यो योजना सम्पन्न भएपछि साना तथा मझौला उद्योगी लाभान्वित हुनेछन् । नगरपालिकाले युवाको ध्यान केन्द्रित गर्न खेलकुदलाई पनि प्राथमितामा राखेको छ ।


यसकै लागि १ र २ नम्बर वडामा राष्ट्रिय स्तरको फुटबल रंगशाला निर्माण गरिएको छ । कृषिलाई लक्षित गरेर पनि नगर गौरवको आयोजना सञ्चालन भएको वडाध्यक्ष राजेन्द्र तामाङको भनाइ छ ।

 

नेत्र गुरागाईं पार्क निर्माणको काम अघि बढिरहेको छ । नगर गौरवको रूपमा रहेको यो पार्कभित्र जातजातिसँग जोडिएका विभिन्न कला–संस्कृतिको विषय समेटिएका छन् । देशको अर्थतन्त्रलाई गतिशील एवं थप विस्तार गरेर विकासशील राष्ट्रको स्तरमा पु¥याउने राष्ट्रिय आकांक्षालाई नगरपालिकाका यी योजनाले सहयोग पुर्‍याउनेछन् ।