close

म्याङलुङमा खानेपानी आयोजना निर्माण धमाधम

म्याङलुङमा खानेपानी आयोजना निर्माण धमाधम

Trulli
ADVERTISEMENT

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका भौतिक पूर्वाधारमा मात्र नभई खानेपानी र विपद् न्यूनीकरणमा पनि पिछडिएको स्थानीय तह हो । पहाडी भूभाग भएकाले खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । आगलागीले बेलाबेला उत्तिकै सताउने गर्छ । समस्यासँग जुधिरहेका म्याङलुङबासीलाई स्थानीय तहमा जनप्रतिनिधि आएपछि केही राहत भएको छ । खानेपानीको समस्या हट्दै गएको छ भने विपद् न्यूनीकरणका कार्यक्रम अघि सारिएको छ । 

 

पहाडी जिल्लाका स्थानीय तहको मुख्य समस्या भनेकै खानेपानी अभाव हो । छेउमै खोला बगे पनि सहज खानेपानी आपूर्ति अभाव सधैँको समस्या बन्ने गर्दछ । पहाडको बाटो हुँदै पानी लैजान समस्या छ । तीन चार घन्टा हिँडेर पानी लग्नुपर्ने बाध्यतामा पिल्सिएका पाँचथरको म्याङलुङबासीलाई अहिले चैन मिलेको छ । जनप्रतिनिधिले स्थानीय तहमा निर्वाचित भएर आएसँगै खानेपानीको समस्या समाधान गर्न तीन वटा खानेपानी आयोजना सञ्चालन गरेका छन् । तमोर नदीको सुक्खाग्रस्त क्षेत्रमा अहिले बैकुण्ठे खानेपानी आयोजना निर्माणपछि राहत पुगेको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफे बताउँछन् । 

 

ठूला आयोजना सञ्चालन गर्ने जिम्मा नगरपालिकाको काँधमा छ । त्यसबाहेक सानातिना खानेपानीको समस्या वडाले नै समाधान गर्दै आएका छन् । वडाले आफ्नै बजेटबाट योजना सञ्चालन गरेर खानेपानीको समस्या समाधान गरेका छन् । अहिले कृषकलाई सिँचाइ सुविधा मिलेको छ भने नागरिकले सहज महसुस गर्न थालेको वडा नम्बर ५ का वडाध्यक्ष होमबहादुर खड्का बताउँछन् ।

 

सुक्खा क्षेत्रमा अकासे पानी संकलनका लागि पोखरी निर्माण गरी थप स्थानमा यो सेवा विस्तार गरिँदै छ । त्यसका लागि प्लास्टिक पोखरी निर्माण भइरहेका छन् ।  खानेपानीमा मात्र नभई सरसफाइ क्षेत्रमा पनि नगरपालिकाले काम गरेको छ । बजारलाई सफासुग्घर राख्ने काम गरिएको छ । फोहोरमैला व्यवस्थापनका लागि नगरले गाडी व्यवस्था गरेको छ । गाडीबाट फोहोर नगरले बनाएको डम्पिङ साइटमा व्यवस्थापन हुन्छ । सार्वजनिक शौचालय पनि निर्माण गरिएकाले नागरिकले सरसफाइमा समस्या झेल्नु नपरेको नगरप्रमुख तुम्बाहाङफेले जानकारी दिए ।


डम्पिङ साइटलाई थप व्यवस्थित गर्ने काम अघि बढिरहेको छ । फोहोरलाई मोहोर कसरी बनाउन सकिन्छ भनेर नगरले गुरुयोजनै बनाएको छ । ‘सडकमा फोहोर फाल्नेलाई फाइन, उचित व्यवस्थापनका लागि डस्विन’ नारा अगाडि सारिएको नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर सुमन खड्का बताउँछन् । 

 

सिंगो जिल्ला नै बेलाबेला विपद्बाट प्रताडित हुने गर्छ । आगलागीको चपेटामा पर्ने भएकाले नगरले दमकल व्यवस्था गरेको छ । छिमेकी नगरपालिकामा समेत आगलागी भए नगरको दमकल प्रयोग गर्ने गरिएको छ । विपद्पीडितलाई नगरपालिकाले आर्थिक सहयोग गर्दा जनप्रतिनिधि भएको महसुस नागरिकले गर्न पाएका छन् । वातावरणीय मूल्यांकनका आधारमा सडक बनाउने र नयाँ ट्र्याक खोल्ने गरिएको छ । खानेपानी, सरसफाइ र विपद् क्षेत्रमा नगरपालिकाले अघि सारेका योजनालाई पूरा गर्दै अघि बढ्दा नागरिकले जनप्रतिनिधिको प्रशंसा गर्न थालेका छन् ।