close

पूर्वाधार र सडक निर्माणले बढायो चैनपुरको गौरव

पूर्वाधार र सडक निर्माणले बढायो चैनपुरको गौरव

Trulli
ADVERTISEMENT

संखुवासभा– स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकामा गौरव गर्न लायक विकास  योजना निर्माण गर्ने उद्घोष गरेको पाँच वर्ष पूरा भयो । जनप्रतिनिधिले घोषणापत्रमा समेटेका नगर र गाउँको गौरव बढाउने योजना कतै पूरा भइसके भने कतै निर्माणाधीन छन् । संखुवासभाको चैनपुर नगरपालिकाले खानेपानी, सडक निर्माण र संस्कृति संरक्षणलाई आफ्नो गौरवको योजनामा समेटेको छ । 


०७४ मा स्थानीय तहको निर्वाचनपछि चैनपुर नगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठक २७ असारमा बस्यो । सोही बैठकले नगरमा विद्यमान समस्यालाई केलाउने काम गर्‍यो भने केही नगर गौरवको आयोजना तोक्न सफल भयो । त्यतिबेलादेखि हालसम्म नगरपालिकाले नगरको गौरव बढाउने गरी खानेपानी योजना, सडक निर्माण र संस्कृति संरक्षणमा पहल गरिरहेको छ । योजना क्रमशः सफल हुँदै जाँदा जनप्रतिनिधि सन्तुष्ट छन् भने नगरबासी पनि खुसी भएको नगरप्रमुख भरतकुमार खत्री बताउँछन् ।

 

नगर गौरवको रूपमा रहेको बृहत्तर खानेपानी योजनाअन्तर्गत अरुण नदी र सभाखोलाबाट सोलर लिफ्टिङ प्रविधिबाट खानेपानी व्यवस्था गरिएको छ । यसले अधिकांश नगरबासीको खानेपानी समस्या समाधान भएको छ । खानेपानी अभावका कारण बढिरहेको बसाइँसराइ रोकिन थालेको छ । सडकलाई स्तरोन्नति गर्ने काम नगर गौरवको आयोजनासँग जोडिएको छ ।

 

चैनपुरको जिरोप्वाइन्टदेखि गुफापोखरीसम्मको करिब ७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसले वडा नम्बर ५ र ४ नम्बरसम्म जान सहज भएको छ । सडलाई कालोपत्रे गरेर मजबुत र सहज बनाउनु नगरपालिकाको पहिलो प्राथमिकता रहेको नगरप्रमुख खत्रीले जानकारी दिए ।

 

नगरपालिकाले जिरो प्वाइन्टदेखि गुफा पोखरीसम्मको सडकलाई कालोपत्रे गर्ने कामलाई नगर गौरवको योजनामा राखेको छ । यसले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न मद्दत पुगेको छ । हात्तीसुँडे हुँदै पिलुवा दोभान जाने सडक कालोपत्रे गरिएको छ । यो चैनपुरदेखि धरान जाने वैकल्पिक सडक  बन्न पुगेको छ । यसले साविकको दूरी छोट्याएको स्थानीय धनबहादुर लिम्बूखिमको भनाइ छ ।

 

नागरिकको जीवन स्तरलाई गौरवको योजनाको रूपमा समावेश गरेको नगरपालिकाले १० नम्बर वडामा बयर बाख्राको स्रोत केन्द्र निर्माण गरेको छ । प्रदेशकै पहिलो बाख्रा स्रोत केन्द्र बन्दा नगरको गौरव बढ्न पुगेको छ । लागत साझेदारीमा निर्माण गरिएको स्रोत केन्द्रले आन्तरिक पर्यटनसँगै किसान लाभान्वित हुनेछन् । परम्परागत सीप, संस्कृतिलाई जोगाउने प्रयास नगरपालिकाले गरेको छ । नगरको पहिचान करुवासँग जोडिएकाले पनि यहाँको करुवा निर्माणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर नगरको गौरवलाई कायम राखिएको छ । नगरमा करुवा पार्क निर्माण गरिएको नगरप्रमुख खत्री सुनाउँछन् । नगरपालिकाले अँगीकार गरेको नीतिले नगरको गौरव मात्रै होइन, समृद्धिको यात्रामा अघि बढाउन सहयोग पुगेको छ ।