close

नागरिकलाई विकास निर्माणमा हिस्सेदार बनाउँदै सूर्योदय 

नागरिकलाई विकास निर्माणमा हिस्सेदार बनाउँदै सूर्योदय 

Trulli
ADVERTISEMENT

इलाम-लोकतन्त्रमा सुशासनले स्थानीय सरकारलाई थप प्रभावकारी र जनउत्तरदायी बनाउन मद्दत गर्छ । यसका लागि जनसहभागिता प्रमुख सर्त हो । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधिले काम गर्दै आएका छन् । विकास निर्माणमा जनसहभागिता हुँदा नागरिकलाई प्रत्यक्ष रूपमा योजनासँग जोड्न टेवा पुगेको छ । 

 

स्थानीय तह र नागरिक सम्बन्ध नङ र मासुको जस्तो हुन्छ । नागरिकले स्थानीय सरकारसमक्ष प्रश्न राख्ने, सोधीखोजी गरेमा कार्यसम्पादन प्रभावकारी र दिगो बन्ने गर्छ । खासगरी विकासका काममा नागरिकले पालिका सरकारलाई समयमै सचेत नगराए लाभ लिने बेला पछुताउनुको अर्थ रहन्न । नागरिकलाई निर्णय प्रक्रियामा सहभागी नगराउँदा भ्रष्टाचार, अनियमितता हुने सम्भावना उत्तिकै रहन्छ । साढे चार वर्षदेखि इलामको सूर्योदय नगरपालिकाले सुशासन कायम गर्न जनसहभागितालाई जोड दिँदै आएको छ । आधुनिक शासन व्यवस्थामा नागरिकसँग टाढिन नमिल्ने बुझेकै कारण जनप्रतिनिधिले जनसहभागितामा बढी जोड दिएको पाइन्छ । नगरपालिकाले अहिले पनि नगरको विकासका लागि विकास आयोजनाको छनोट गर्दा, नगर यातायात गुरुयोजना बनाउँदा, पञ्चवर्षीय आवधिक योजना निर्माण गर्दा, वार्षिक योजना निर्माण गर्दा जनसहभागितालाई प्राथमिकता दिने गरेको छ । 

 

सार्वजनिक र सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ, नागरिक बडापत्र, नागरिक अभिमत–पत्र, वर्हिगमन अभिमत, स्थानीय बजेट अनुशिक्षणमा नगरपालिकाले जनसहभागिता बढाएको छ । जनप्रतिनिधि गाउँगाउँ पुगेर नागरिकसँग सुझाव लिँदै आएका छन् । गुनासो चौतारीको व्यवस्थित प्रयोग गरी सुशासनको प्रवद्र्धन गरेर जनसहभागितालाई प्राथमिकता दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  प्रकाशराज पौडेलले बताए ।

 

सूर्योदयमा २ सय ५६ वटा टोल विकास संस्था छन् । प्रत्येक घरका एक सदस्यलाई संस्थामा राखेर उनीहरूकै सुझावका आधारमा विभिन्न योजना बनाउने र कार्यान्वयन गर्ने काम अहिले पनि जारी छ । सुशासन कायम गर्दै अगाडि बढ्दा सबै क्षेत्र, समुदाय, वर्गमा समान विकासको अवसर र नागरिकका गतिविधिमा समेत जवाफदेहिता मिलेको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

 

सरोकारवालालाई विकासको प्रत्याभूति प्रत्यक्ष दिलाउन जनसहभागिताबिना असम्भव हुने कुरालाई सूर्योदयले मनन गरेको प्रस्ट छ ।  आफ्ना गाउँमा भइरहेको विकास गतिविधिको निगरानी गर्ने, अनियमितताको भेउ पाउनेबित्तिकै त्यसविरुद्ध आवाज उठाउन अब नागरिक सक्षम भएका छन् । नागरिकको खबरदारीमा सही विचार र योजनाअनुसार काम गर्न सूर्योदयलाई बल पुगेको छ । मुलुकमा सुशासन कायम गर्ने राष्ट्रिय आकांक्षामा सूर्योदयको अभ्यास सराहनीय छ ।