close

खेल पूर्वाधार निर्माणमा रंगेलीको फड्को  

खेल पूर्वाधार निर्माणमा रंगेलीको फड्को  

Trulli
ADVERTISEMENT

मोरङ- खेलकुदले स्वस्थ तथा अनुशासित नागरिक बनाउन मद्दत गर्छ । देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन पनि खेलकुदको योगदान महत्त्वपूर्ण हुन्छ । यही तथ्यलाई आधार मानेर मोरङको रंगेली नगरपालिकाले  युवालाई खेलकुदमा आकर्षित गरिरहेको छ । विगत पाँच वर्षमा नगरपालिकाले आवश्यक खेल पूर्वाधार निर्माण गरेर खेलकुदप्रति युवाको ध्यान तान्न सफल भएको छ ।  

 

सरकारले एक स्थानीय तह, एक खेलकुद मैदानको अवधारणा लागू गरेको छ । सबै स्थानीय तहमा यो अवधारणा कार्यान्वयनमा जान सकेको छैन । कतै बजेट अभाव त कतै पर्याप्त जग्गा नहुँदाको परिणाम जनप्रतिनिधिमा अन्योल देखिन्छ । तर, युवा पुस्तालाई खेलकुदमा आकर्षित गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न रंगेली नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै लगेको छ । 

 

प्रत्येक वडामा वडास्तरीय अध्यक्ष कप फुटबल आयोजना हुने गरेको छ । मेयर कप तथा अन्य खेलकुदको विकास र विस्तारका लागि नगर खेलकुद विकास समितिमार्फत प्रतियोगिता सञ्चालन हुने गरेका छन् । नगरपालिका क्षेत्रभित्रका खेल मैदानको आवश्यक पूर्वाधार विकास र स्तरीकरण पनि गरिएको छ । सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण गर्दा युवा पुस्ताको खेलकुदप्रति आकर्षण बढ्दै गएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेर खेलाडी उत्पादन गर्न सफल नगरपालिकाका नगरप्रमुख दिलीपकुमार अग्रवाल, बताउँछन् ।

 

प्रत्येक विद्यालयमा खेल शिक्षक राखिएको छ । यस्तै, नगरपालिकाले प्रशिक्षक नियुक्त गरेर सबै विद्यालयमा फरक–फरक दिन गएर प्रशिक्षण दिने व्यवस्था मिलाएको छ । वडा तहका खेलाडीका लागि प्रत्येक वर्ष खेल सामग्री, खेल पोसाक, वडास्तरीय क्रिकेट तथा फुटबल प्रतियोगिता आयोजना हुने गरेको छ । प्रत्येक खेलाडीलाई पोसाक र सेवा–सुविधाबापत १० हजार रुपैयाँ दिने गरिएको नगरपालिकाको खेलकुद शाखा प्रमुख रवीन्द्रकुमार पण्डितको भनाइ छ ।

 

नगरपालिकाले विद्यालय तहमै तेक्वान्दो, भलिबल, फुटबल, कराँते र क्रिकेटका खेल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेल सामग्री वितरण तथा प्रदेशगत खेल प्रतियोगिता आयोजना हुँदा खेलकुदप्रति युवा आकर्षित हुँदै गएका छन् । अन्तरविद्यालय र नगरस्तरीय विद्यालय तहका खेल प्रतियोगिता आयोजना गरिँदा विद्यार्थीमा खेलप्रतिको आकर्षण बढेको मोरङको पब्लिक माध्यमिक विद्यालयका प्रधानान्यापक वीरेन्द्रप्रसाद साहले जानकारी दिए ।


वडास्तरमै खेल गतिविधि सञ्चालन गरेर युवा वर्गलाई खेलकुदप्रति आकर्षित गराउन नगरपालिका सफल भएको छ । खेलकुदमा गरेको लगानी र पालिका तहमा भइरहेका प्रतियोगिताले खेल पूर्वाधार निर्माण तथा नयाँ खेलाडी उत्पादनमा नगरपालिकाले सफलता पाउँदै गएको छ ।