close

सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्दै मधेस प्रदेश

सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्दै मधेस प्रदेश

Trulli
ADVERTISEMENT

ढल्केवर–  मधेश प्रदेश सरकारले प्रदेशभरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रसँग जोडिने गरी कालोपत्रे सडक निर्माण गर्ने भएको छ । मधेस सरकारले प्रदेशभरका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गर्न लागेका हो ।

 

कालोपत्रे सडक निर्माणका लागि मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । मन्त्रालयले ६४ स्थानमा कालोपत्रे सडक निर्माण गर्न छुट्टाछुट्टै ठेक्का आह्वान गरेको छ । ठेक्का आह्वान भएर मुल्याङ्कनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपककुमार दासले बताए ।

 

उनले चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रत्येक स्थानका लागि एक करोड पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । सडक निर्माणमा अपुग हुन जाने रकम आउँदो आर्थिक वर्षमा थप गरिने छ । दुई वर्षमा सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्कामा दिन लागिएको सचिव दासले भने ।

 

मधेस सरकारले सहज यात्राका लागि गुणस्तरयुक्त कालोपत्रे सडक निर्माण गर्न लागेको छ । सडक पूर्वाधार निर्माणले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने उनले भने ।

 

यसैगरी, मधेस सरकारले नीति तथा कार्यक्रममा नै समेटेको सडक निर्माण कार्यक्रम अन्तर्गत प्रदेशभरमा कालोपत्रे, ढलान र ग्राभेल गरी एक हजार ६२३ किलोमिटर सडक निर्माण गरेको छ । मधेस सरकारले २२४ किलोमिटर कालोपत्रे सडक, २३७ किलोमिटर ढलान सडक, ९३७ किलोमिटर ग्राभेल सडक र २२५ किलोमिटर माटो सडक निर्माण कार्य सम्पन्न गरेको छ ।