सिन्धुपाल्चोक–सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये अधिकांशले प्रशासनिक भवन निर्माण गरेका छन् भने केहीको निर्माणाधीन अवस्थामा रहेका छन् । सिन्धुपाल्चोका ३ नगरपालिका र ९ गाउँपालिका गरी १२ स्थानीय तह छन् ।
यहाँका अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले ६ करोड ५१ लाख रुपैयाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा भवन निर्माण गरेको पालिका अध्यक्ष वशंलाल तामाङले बताए । पालिकाका १० वटा वडाको भवन निर्माण गरी सेवा दिन थालिएको उनको भनाइ छ ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले ७ करोड रुपैयाँ लागतमा प्रशासनिक भवन निर्माण गरेको जानकारी दिए । नगरका ९ वटा वडाका भवन बनिसकेका छन् ।
मेलम्ची नगरपालिकाले ७ करोड रुपैयाँ लागतमा २ वटा प्रशासनिक भवन निर्माण गरेको नगरप्रमुख डम्बर अर्यालले बताए । पालिकाका १३ वडामध्ये ७ वडा कार्यालयका नयाँ भवन बनेका छन् । भोटेकोसी गाउँपालिकाले ६ करोड रुपैयाँको लागत ३ वटा वडा भवन निर्माण गरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।