close

धनगढी विमानस्थल स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्यो

धनगढी विमानस्थल स्तरोन्नतिको प्रक्रिया अगाडि बढ्यो

Trulli
ADVERTISEMENT

धनगढी– सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका कार्य अगाडि बढाइएको छ । यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउनका लागि स्तरोन्नतिका प्रारम्भिक काम अगाडि बढाइएको हो । विमानस्थलको स्तरोन्नतिका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्भेको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

 

उनका अनुसार डीपीआर तयार पार्ने जिम्मा रियलपाथ कन्सल्टेन्सीले पाएको छ । सो कन्सल्टेन्सीका प्राविधिकले सर्भेको काम गरिरहेका छन् । सम्झौताअनुसार एक महिनाभित्र डीपीआर निर्माणको काम पूरा हुनेछ, प्रमुख भट्टले भने । अहिले टोलीले विमानस्थल विस्तार हुने क्षेत्रमा भौगोलिक अवस्था, भूवनोट, रुख, बोटबिरुवा, बनाउनु पर्ने संरचनालगायतका बारेमा अध्ययन गरिरहेको छ । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पहलमा गत पुसमा नागरिक उड्डयन प्राधिकरणले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो । प्राधिकरणले बजेट विनियोजन गरेपछि स्तरोन्नतिका प्रारम्भिक कार्य अगाडि बढेको हो । डीपीआर निर्माण भएलगत्तै क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया पनि अगाडि बढाउने तयारी गरिएको छ ।

 

क्षेत्रीय विमानस्थल बनाउन थप २५८.२५ बिघा जमिन आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । हाल ८३ बिघा जमिनमा यो विमानस्थल रहेको छ । यसैगरी हाल एक हजार आठ सय मिटर लामो धावनमार्ग रहेको छ । यसलाई विस्तार गरेर दुई हजार ५५० मिटर पुर्‍याउने प्राधिकरणको योजना छ । यसैगरी धावनमार्गको चौडाइ पनि बढाएर ४५ मिटर पुर्‍याइनेछ ।

 

यो विमानस्थल क्षेत्रीय विमानस्थल भएमा निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पनि सहज हुने प्रमुख भट्टले बताउनुभयो । हाल धनगढी विमानस्थलमा ७० सिट क्षमताका जहाजहरू अवतरण भइरहेका छन् । स्तरोन्नति भएमा दुई सय सिट क्षमताका विमान पनि अवतरण हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

 

भीओआर/डीउमई सञ्चालनमा आएन

‘भिजिबिलिटी’ कम भएको बेला पनि सहज रूपमा जहाज अवतरण गर्नका लागि धनगढी विमानस्थलमा जडान गरिएको उपकरण सञ्चालनमा आउन सकेको छैन । एक महिनाअगाडि नै जडान कार्य सम्पन्न भएको भीओआर÷डीउमई (भेरी हाइ फ्रिक्वेन्सी ओम्नी–डाइरेक्सनल रेन्ज डिस्टान्स मिजरिङ इक्विपमेन्ट) उपकरण सञ्चालनमा आउन नसकेको हो । यो उपकरण सञ्चालनमा नआएका कारण हुस्सु लागेको बेला वा अन्य कारणले कम ‘भिजिबिलिटी’ भएको बेला धनगढी विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको छैन । उपकरण जडानको सम्पूर्ण कार्य सकिए पनि परीक्षण नभएका कारण सञ्चालनमा आउन नसकेको प्राधिकरणका धनगढी प्रमुख भट्टले बताए । यो परीक्षणका लागि विदेशी जहाज आउनु पर्दछ, उनले भने । परीक्षण नभएकाले उपकरण प्रयोगमा नआएको हो ।

 

जाइकाको सहयोगमा जापनिज र कोरियन कम्पनीले धनगढी विमानस्थलमा सो उपकरण जडान गरेको हो । २०७५ मै भीओआर/डीउमई जडानको कार्य सुरु गरिएको थियो । एक महिनाअगाडि मात्रै सबै काम पूरा भएको भट्टले बताए । उनका अनुसार भीओआर/डीउमई उपकरण सञ्चालन भएमा १.६ किलोमिटर भिजिबिलिटी भएको बेला पनि यो विमानस्थलमा सहज रूपमा जहाज अवतरण गर्न सक्नेछ । तर, उपकरण सञ्चालन नभएकाले हिउँदमा हुस्सु लागेपछि उडानहरू रद्द भइरहेका छन् । धनगढी विमानस्थलमा सजिलोका लागि पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्ने गरेको छ । दुई किलोमिटर भिजिबिलिटी भएको बेला पनि जहाजहरू अवतरण भइरहेको प्रमुख भट्टले उल्लेख गरे ।