close

पक्की पुलले जोडिँदै वारि दार्चुला, पारि धार्चुला

पक्की पुलले जोडिँदै वारि दार्चुला, पारि धार्चुला

Trulli
ADVERTISEMENT

काठमाडौं– सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरे बल पुल निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 


पुल बनाउने सबै जिम्मा भारतीय पक्षको हुने सम्झौतामा उल्लेख छ । भारतले अनुदानमा पुल बनाइदिन लागेको हो । ‘हाम्रो तर्फबाट जग्गा उपलब्ध गराइदिने, रुख कटान गर्नुपर्ने भए त्यसको व्यवस्था गरिदिने, पुल निर्माणमा आउने भारतीय कामदार र सामानलाई सहज बनाउने समझदारी मात्रै छ,’ सचिव श्रेष्ठले भने, ‘लगानीदेखि ठेक्कापट्टासम्मको काम सबै भारतीय पक्षले नै गर्नेछ ।’

 


भारतीय पक्षले पुल निर्माणका लागि डिपिआर तयार भइसकेको र छिट्टै काम सुरु हुने बताएको श्रेष्ठको भनाइ छ । ‘उहाँहरूले त्यसको डिजाइन, डिपिआर केही समयमै हामीसँग सेयर गर्नुहुन्छ,’ सचिव श्रेष्ठले भने, ‘उहाँहरूले नै लगानी गर्ने भएकाले अहिले ठेक्कापट्टाको काम पनि उतैबाट हुन्छ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले महाकाली नगरपालिका वडा नम्बर ८ असिगडामा पुल बन्न लागेको जानकारी दिए ।


उक्त पुलले असिगडा र भारतको छारछुङलाई जोड्नेछ । ‘अहिले दार्चुला र धार्चुला जोड्ने झोलुंगे पुल छ । मोटरे बल पुल बन्न लागेको ठाउँ सदरमुकामदेखि ८–१० किलोमिटर टाढा छ,’ प्रजिअ उपाध्यायले भने, ‘धेरै ठाउँ हेरेपछि त्यहाँ पुल बनाउने निधो भएको हो ।’ पुल निर्माण कहिलेदेखि सुरु हुन्छ भन्नेबारे यही साता भारतको पिथौरागढका अधिकारीसँगको वार्तामा कुरा हुने उपाध्यायले बताए ।


काठमाडौंस्थित भारतीय दूतावासले पुल निर्माणको काम चाँडै सुरु हुने बताएको छ । ‘यो परियोजनाले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटीअनुरूप रहेको छ ।’ केही दिनअघि भारतको केन्द्र सरकारले महाकालीमाथि पुल बनाउने निर्णय गरेको थियो ।