close

एक घर एक धाराले फर्कायो गाउँ

एक घर एक धाराले फर्कायो गाउँ

Trulli
ADVERTISEMENT

तनहुँ– खानेपानी समस्या रहेको देवघाट गाउँपालिका वडा नम्बर २ ब्यागनमा एक घर एक धारा जडान गरिएपछि स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित झन्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले बताए ।


उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’ गण्डकी प्रदेश सरकारको १ करोड ५८ लाख रुपैयाँ आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । 

 

कुवाको एक गाग्री पानी भर्न कठिनाइ भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई सहज भएको छ । सोही वडाको छिपछिपेभन्ज्याङ घोप्रे खोलाबाट मूल ट्यांकीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले बताए । गाउँमा २४ सै घन्टा धारामा पानी आएपछि स्थानीय खुसी छन् ।

 

उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीय व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’ उक्त आयोजनाबाट त्यस क्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टिङका लागि आवश्यक पहल भइरहेको वडाध्यक्ष आलेले बताए ।