close

४० स्थानीय तहले तीन वर्षमा बनाए ४० वटा प्रशासकीय भवन

चालू वर्ष ४० वटा निर्माण हुँदै

४० स्थानीय तहले तीन वर्षमा बनाए ४० वटा प्रशासकीय भवन

चालू वर्ष ४० वटा निर्माण हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं–स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रममार्फत तीन वर्षमा मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ४० वटाले कार्यालय सञ्चालनका लागि प्रशासकीय भवन निर्माण गरेको विभागले तथ्यांक सार्वजनिक गरेको छ । स्थानीय पूर्वाधार विभागले अघिल्लो आर्थिक वर्ष ०७६/७७ देखि सञ्चालन गरेको उक्त कार्यक्रममार्फत ४० प्रमुख प्रशासकीय भवन निर्माण भएको हो ।


कार्यक्रम सञ्चालन भएको पहिलो आर्थिक वर्ष ०७६/७७ मा ११ स्थानीय तहले स्थानीय तहको प्रशासकीय भवन निर्माण गरेका थिए भने दोस्रो आर्थिक वर्ष ०७७/७८ मा २९ वटाले भवन बनाएका छन् ।


विभागका अनुसार गत आर्थिक वर्षदेखि २ सय ४० स्थानीय तहमा प्रशासकीय भवन निमार्णको काम भइरहेको छ । यो वर्ष थप ५० वटा स्थानीय तहमा गरेर जम्मा २ सय ९० स्थानीय तहमा प्रशासकीय भवन निर्माणको काम भइरहेको विभागका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।


उनका अनुसार कतिपय स्थानीय तहमा कार्यविधिअनुसार निरन्तर काम भइरहेको, कतिपय स्थानीय तहमा यसै वर्ष सकिने र कतिपय अर्को वर्ष सकिने अवस्था छन् । कतिपय स्थानीय तहले भर्खरै मात्र ठेक्का आह्वान गरेर भवन निर्माण प्रक्रिया सुरु गरेका सूचना अधिकारी पौडेलले बताए ।

 

भवन संघीय र स्थानीय तहको संयुक्त खर्चमा निर्माण हुन्छ । विभागका अनुसार यो पाँचवर्षे कार्यक्रम हो । प्रशासकीय भवन निर्माण गर्न मन्त्रालयबाट एकमुष्ट रकम विनियोजन हुँदै आएको छ ।


विभागका अनुसार कार्यक्रम सञ्चालन भएको पहिलो आर्थिक वर्ष ०७६/७७ मा ३० करोड ५२ लाख, दोस्रो आर्थिक वर्ष ०७७/७८ मा ८० करोड रुपैयाँ विनियोजन भएको थियो । अन्य क्षेत्रबाट ५० करोड रुपैयाँ बजेट रकमान्तर गरेर १ अर्ब २६ करोड र चालू आर्थिक वर्ष ०७८/७९ मा ९९ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ ।


पहिलो आर्थिक वर्षको सबै रकम र दोस्रो आर्थिक वर्षमा ९० करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ । गत असारमा रकमान्तमार्फत बजेट थप गरिए पनि कोभिड–१९ का कारणले सबै रकम खर्च हुन सकेन ।

 

पहिलो वर्षमा ११ स्थानीय तहले बनाए


विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ६ प्रदेशका ११ स्थानीय तहले प्रकाशकीय भवन निर्माण गरेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तहले प्रशासकीय भवन निर्माण गरेका छन् ।


त्यस्तै, दोस्रोमा बागमती प्रदेश र गण्डकी प्रदेशका २/२ स्थानीय तहले प्रशासकीय भवन निर्माण गरेका छन् । सबैभन्दा कम प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा १/१ स्थानीय तहले भवन निर्माण गरेका छन् ।

 

सुदूरपश्चिममा बाजुराको हिमाली गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिका, बागमती प्रदेशमा ललितपुरको कोंज्योसोम गाउँपालिका, चितवनको राप्ती नगरपालिका, गण्डकी प्रदेशमा गोरखाको पालुङटार नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकाले प्रशासकीयक भवन निर्माण गरेका छन् ।


यस्तै, भवन निर्माण गर्नेमा प्रदेश १ मा इलामको इलाम नगरपालिका, लम्बिनी प्रदेशमा रूपन्देहीको कञ्चन गाउँपालिका र कर्णाली प्रदेशमा सल्यानको कुमाख गाउँपालिका रहेका छन् ।

 

दोस्रो वर्षमा २९ स्थानीय तहले बनाए


आर्थिक वर्ष ०७७/७८ मा २९ स्थानीय तहले प्रमुख प्रशासकीय भवन निर्माण गर्न सफल भएका छन् । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ८ स्थानीय तह र दोस्रोमा बागमती प्रदेशका ६ स्थानीय तह रहेका छन् । 

 

यस्तै, प्रदेश १ का पाँच स्थानीय तह, गण्डकी प्रदेश र कर्णाली प्रदेशका चार/चार स्थानीय तह तथा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशका १÷१ स्थानीय तहले मात्रै प्रशासकीय भवन निर्माण गरेका छन् ।

 

लुम्बिनी प्रदेशमा दाङका बंगलाचली, बबई र राप्ती गाउँपालिका, बर्दियाको मधुवन नगरपालिका, प्यूठानको सरुमरानी गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, रूपन्देहीको सैनामैना नगरपालिका, कपिलवस्तुको मायादेवी गाउँपालिका रहेका छन् ।


यस्तै, बागमती प्रदेशमा नुवाकोटको दुप्चेश्वर, शिवपुरी र तादी गाउँपालिका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका, रामेछापको रामेछाप नगरपालिका र सिन्धुलीको मरिन गाउँपालिका रहेको छ । प्रदेश एकमा झापाका कनकाई नगरपालिका र हल्दीबारी गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका रहेका छन् ।

 

गण्डकी प्रदेशमा स्याङ्जाको गल्याङ नगरपालिका र आँधीखोला गाउँपालिका, गोरखाको बारपाक सुलिकोट गाउँपालिका र लमजुङको राईनास नगरपालिका रहेका छन् ।

 

कर्णाली प्रदेशमा सुर्खेतको पञ्चपुरी नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् । मधेस प्रदेशमा सप्तरीको खडक नगरपालिका र सुदूरपश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रशासकीय भवन बनाएका छन् ।

 

आर्थिक वर्ष ०७८/७९ मा ४३ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणाधीन अवस्थामै रहनेछन् भने ३० वटा भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । त्यस्तै, २३ स्थानीय तहले भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिरहेका छन् ।

 

१५ स्थानीय तहले भवन निर्माणका लागि एकमुष्ठ ठेक्का आह्वान नगरी आंशिक रूपमा टेन्डर आह्वान गरेका छन् । चालू आर्थिक वर्षमा ५० स्थानीय तहले भवन निर्माणका लागि बजेट मागेका छन् ।


स्थानीय तह प्रशासकीय भवन कार्यविधि २०७८ अनुसार गाउँपालिकाले बढीमा ९ करोड रुपैयाँसम्मको प्रशासकीय भवन निर्माण गर्न सक्नेछन् । यसका लागि सरकारले ६० प्रतिशत अनुदान दिने कार्यविधिमा उल्लेख छ ।

 

नगरपालिकाको हकमा बढीमा १२ करोड रुपैयाँसम्म लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था छ । यस्तै, उपमहानगरले १५ करोड रुपैयाँसम्मको प्रशासकीय भवन निर्माण गर्दा ४० प्रतिशत अनुदान दिने व्यवस्था छ । महानगरपालिकाको हकमा भने कार्यविधिमा केही उल्लेख गरिएको छैन ।

 

पर्याप्त संरचना भएका कारण रकम विनियोजन गरिरहनु नपर्ने स्थानीय तह २ वटा रहेका छन् । गण्डकी प्रदेशमा स्याङ्जाको वालिङ नगरपालिका रहेको छ भने सुदूरपश्चिम प्रदेशमा अछामको मंगलसेन नगरपालिका छ ।