close

प्रदेश पूर्वाधार निर्माणका जग्गा खोज्दै बागमती सरकार

प्रदेश पूर्वाधार निर्माणका जग्गा खोज्दै बागमती सरकार

Trulli
ADVERTISEMENT

हेटौंडा– बागमती सरकारले स्थायी राजधानी तोकेको दुई वर्षपछि प्रादेशिक संरचना निर्माणका लागि स्थान छनोट सुरु गरेको छ । अव्यवस्थित सरकारी संरचनामा सञ्चालन हुँदै आएको बागमती सरकारका मन्त्रालय र कार्यालयका लागि व्यवस्थित संरचना तयार गर्न प्रदेशले जग्गा खोजी सुरु गरेको हो ।

 

मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल र भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भडेलसहितको टोलीले हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

 

टोलीले हेटौंडा उपमहानगर वडा नम्बर ५ पिप्लेमा रहेको मत्स्य विकास केन्द्रको जमिन, वडा नम्बर १७ र १८ को सामुदायिक वन क्षेत्रको जग्गा पनि हेरेको छ । त्यस्तै, टोलीले वडा नम्बर ६ र १५ मा पर्ने चित्रेपानी सामुदायिक वन र वडा नम्बर ९ को हेटौंडा सिमेन्ट उद्योगको रातमाटे डाँडा क्षेत्र पनि निरीक्षण गरेको छ ।

 

केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा प्रादेशिक राजधानी हेटौंडामा प्रदेश सरकारका मन्त्रालय, संसद् भवन, आवासगृह, प्रदेश स्तरीय भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

 

०७४ मा हेटौंडालाई अस्थायी राजधानी तोकिएपछि तत्कालीन जिविसले निर्माण गरेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशको संसद् भवन, तत्कालीन श्रम कार्यालयले निर्माण गरेको भवनमा अहिले पाँच मन्त्रालय रहेका छन् ।


त्यस्तै, डिभिजन वन कार्यालयको हातामा वन मन्त्रालय र मुख्यमन्त्रीको आवास राखिएको छ । हेटौंडा सिमेन्ट उद्योगको आवासगृहमा मन्त्री निवास बनाइएको छ भने केही मन्त्रालय भाडाका घरमा अव्यवस्थित तरिकाले सञ्चालन हुँदै आएका छन् ।

 

जग्गा छनोट टोलीका अनुसार मन्त्रालय र संसद् भवन एकै ठाउँ बनाउने गरी जग्गा खोजिएको छ । मुख्यमन्त्री पाण्डेले सरकारले प्रदेशको स्थायी संरचना बनाउनेतिर ध्यान दिएको बताए । ‘चाँडै भूगोल छनोट गरी काम अघि बढाइन्छ,’ उनले भने ।