close

तेमाल क्षेत्रका ५५ हजार नागरिकलाई चैतभित्रै स्वच्छ खानेपानी

तेमाल क्षेत्रका ५५ हजार नागरिकलाई चैतभित्रै स्वच्छ खानेपानी

Trulli
ADVERTISEMENT

काभ्रे– आउँदो चैतभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई घरघरमा स्वच्छ खानेपानी पुर्‍याइने भएको छ । गत मंसिरमा खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोरोना र प्राकृतिक प्रकोप खेप्नुपर्दा उपभोक्ताको घर–घरमा खानेपानी उपलब्ध गराउन नसकिएको हो ।  

 

तेमाल बृहत् खानेपानी आयोजना कोरोनाको पहिलो र दोस्रो लहरका साथै गत साउनमा सुनकोसी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुर्‍याउँदा करिब एक वर्ष पछि धकेलिएको हो । उपभोक्ता समितिले अबको तीन महिनापछि घर–घरमा खानेपानी पुर्‍याउने गरी आयोजना मर्मतलगायत काम भइरहेको जनाएको छ । ‘आउँदो चैतभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यसहित काम भइरहेको छ’, समितिका अध्यक्ष संग्रामजित लामाले भने । 

 

उनका अनुसार आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९८ प्रतिशत काम सकिएको जनाइएको छ । हाल मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको लामाले बताए । 

 

उनका अनुसार १२ ट्यांकीमा पानी परीक्षण भइसकेको छ भने थप ११ ट्यांकीमा परीक्षणको काम भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको छ । लामाका अनुसार उक्त आयोजनाबाट तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ । 

 

लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरिनेछ । यसको मुहान सुनकोसी नदी किनारमा छ । यो वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका वडा नम्बर २ र ३ को सिमाना सुनकोसी नदी किनार चुखाबेंसीमा कटान सुरु गरेको थियो ।

 

गत १७ र १९ साउनको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण गरिएको लिफ्टिङ ट्यांकीको जोखिमलाई सुरक्षित गरिएको हो । ‘यो वर्षको अनपेक्षित बाढीले खानेपानीको मुहान क्षेत्रमा लाखौँको पुर्‍याएको थियो । हामीले मर्मत, पुनःनिर्माण तथा सुरक्षित बनाउने सकेका छौँ’, लामाले भने ।


  
उनका अनुसार बाढीले आयोजनाको ६० लाख रुपैयाँभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्‍याएको थियो । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करिब ५५ हजार नागरिकका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको ९ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । 

 

आयोजनाको काम सकेसम्म छिटो सक्ने गरी कामलाई तीव्रता दिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘आउँदो चैतभित्र घरघरमा खानेपानी पुर्‍याउन खटिइरहेका छौँ ।’ ०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत वर्ष मंसिरमा सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीका कारण कामको निरन्तरता नहुँदा तथा बाढीले संरचनामा क्षति पु¥याउँदा केही धकेलिएको हो ।

 

लामाका अनुसार हाल खानेपानी वितरणको पाइपलाइन बिछ्याइने काम अन्तिम चरणमा पुगेको छ । याङ्बेल डाँडामा ४ लाख लिटर क्षमताका दुई मुख्य ट्यांकी निर्माण गरिएको छ । 

 

खानेपानी विभागमार्फत १ अर्ब २७ करोड, गाउँपालिकाको १ प्रतिशत र स्थानीय उपभोक्ताले ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोसी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।