close

माछीताल र खर्कमा सोलारबाटै सिँचाइ र खानेपानी सुविधा

माछीताल र खर्कमा सोलारबाटै सिँचाइ र खानेपानी सुविधा

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिका वडा नम्बर १ को माछीताल र खर्कमा सोलार सिस्टमबाट सिँचाइ तथा खानेपानी उपलब्ध गराइन थालेको छ । पालिका कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा सोलार सिस्टमबाट सिँचाइ र खानेपानी व्यवस्थापन गरिएको हो ।


वडा नम्बर १ का दुई विकट बस्तीमा खानेपानी तथा सिँचाइको सहज सेवा दिने उद्देश्यले सोलार लिफ्टिङ खानेपानी तथा सिँचाइ आयोजना निर्माण गरिएको हो । 


निर्माण सम्पन्न भएको माछीतालको सोलार लिफ्टिङ सिँचाइ र निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थलगत अनुगमन गरिएको छ । 


माछीतालको सिँचाइ आयोजना निर्माण अवलोकनपछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवाका लागि सिँचाइ व्यवस्था गरिएपछि जीवनस्तरमा सुधार आउने र खानेपानीका लागि सास्ती भोग्नु नपर्ने विश्वास व्यक्त गरे ।


अध्यक्ष सुवेदीले माछीताल सुक्खा क्षेत्र भए पनि सोलार सिँचाइले गहुँ, मकै, तरकारी उत्पादन तथा सरसफाइमा समेत सहज हुने बताए । 
यस्तै, पालिका उपाध्यक्ष जगदम्बाकुमार चौधरीले निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी आयोजनाको स्थलगत अनुगमन गरिन् । उनले नागरिकलाई खानेपानीको सहज पहुँचमा पुर्‍याउन आयोजना सञ्चालनमा ल्याइएको बताइन् । 


माछीताल र खर्कमा सिँचाइ तथा खानेपानीको काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशांकबाबु आचार्यका अनुसार माछीताल सिँचाइका लागि करिब २८ लाख रुपैयाँ लगानी भएको छ । 

 

यसमा गाउँपालिका तथा वडा नम्बर १ ले १५ लाख, नामसालिङको १० लाख र स्थानीय नागरिकको ३ लाख रुपैयाँ सहयोग रहेको उनले जानकारी दिए ।  खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख रुपैयाँ लगानी छ ।  स्थानीय वगासोती खोलामा निस्किएको मूललाई व्यवस्थित गरी २ स्थानमा रिजर्भ ट्यांकी निर्माण गरेर खानेपानी योजना सञ्चालन गरिएको हो ।

 

अटोमेटिक सोलार सिस्टमबाट पानी सञ्चालन हुने प्रविधिमार्फत खानेपानी वितरण गरिने प्रमुख आचार्यले जानकारी दिए ।  राप्ती पालिका अध्यक्ष सुवेदी, उपाध्यक्ष चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडाध्यक्ष ताराबहादुर डिसी, विष्णुबहादुर घर्ती क्षेत्री, लेखा अधिृकत धनप्रसाद शर्मा, सब–इन्जिनियर प्रदीप वैदिक, वडा सदस्य पूर्णजंग रेश्मी, नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख आचार्य, सञ्चार संयोजक तीर्थराज ज्ञवालीलगायतको टोलीले दुई स्थानको खानेपानी तथा सिँचाइ अवस्था अनुगमन गरेको हो ।