close

मुस्ताङमा सडक कालोपत्र,  म्याग्दीको काम सुस्त

मुस्ताङमा सडक कालोपत्र,  म्याग्दीको काम सुस्त

Trulli
ADVERTISEMENT

बेनी– राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्र र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । 

 

मुस्ताङखण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकांश कालोपत्र गरिएको छ । यो खण्डको सडक कालोपत्रका लागि शर्मा गजुरमुखी जेभीसँग  ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

 

मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर ग्राभेल सडकलाईसमेत कालोपत्रका लागि ठेक्का सम्झौता भइसकेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडकजम्मा ६५ प्रतिशत प्रगति हुँदा जोमसोमदेखि–कोरलासम्मको ११० किलोमिटर लामो सडकखण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । 

 

बेनी–जोमसोम खण्डका चारवटा प्याकेजमध्ये मुस्ताङमा पर्ने कैकुखोलादेखि खन्तीसम्मको प्रगति सन्तोषजनक छ । खन्तीदेखि जोमसोमसम्मको सडकको जिम्मा लिएको कोसी पप्पु गौरीपार्वती एण्ड न्यौपाने जेभिलाई काम सक्न ताकेता गरिएको आयोजनाले जनाएको छ । यस खण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा पर्ने सडकको काम कुनैपनि सन्तोषजनक छैन् । आगामी चैतसम्म म्याद थप भए पनि यस खण्डमा निर्माण कम्पनीले उल्लेख्य मात्रामा जनशक्ति र मेसिन उपकरण परिचालन गर्नसकेका छैनन् ।

 

म्याग्दीको गलेश्वरदेखि मुस्ताङका्े जोमसोमसम्मको ७५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । ‘म्याग्दी खण्डमा काम गर्न निकै चुनौतीपूर्ण भयो, रुप्सेखोलादेखि लेतेसम्म, गलेश्वर, बेगखोला, तातोपानीलगायतका क्षेत्रमा बाढीपहिरो र नदी कटानले निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पारेको छ, निर्माण कम्पनीको ढिलासुस्ती पनि समयमै काम नहुुनुको मुख्य कारण हुन्’’, आयोजना प्रमुख प्रजापतिले भने ।

 

हिउँदयाममा समेत म्याग्दी खण्डको काममा पर्याप्त मजदूर र मेसिन उपकरण कार्यक्षेत्रमा परिचालन हुनसकेको छैन् । गलेश्वरदेखि– नारच्याङ पुलसम्मको २० किलोमिटर सडकको जिम्मा लिएको शर्मा युनाइटेड जेभिले ६५ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ । उसले गरेको यो प्रगतिमा गत वर्षातमा बाढीपहिरोले क्षति पु¥याएको छ । तर अहिले पनि कम्पनीले कामलाई तीव्रता दिन सकेको छैन् ।

 

नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले अहिलेसम्म ६० प्रतिशत काम गरेको छ । यस खण्डमा पर्ने अक्करे पहाड ‘काभ्रेभिर’मा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा अहिले पूर्ण रुपमा काम बन्द छ । 

 

विसं २०७४ जेठमा ६३ करोड ५२ लाखमा २०७६ मङ्सिरमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको यस कम्पनीको म्याद आगामी चैतसम्म थप भएको छ । काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तारका लागि सव कन्ट्र्याक्टर कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी गरिएको शर्मा गजुरमुखीका प्रतिनिधि नरेन्द्र न्यौपानले जानकारी दिए ।

 

 ‘‘तत्काल मेसिन साइटमा पठाएको छौ, काभ्रेभिरमा चार महिनामा कामसक्ने गरी साइट कन्ट्र्याक कम्पनीसँग सम्झौता गरेका छौँ, अन्य कामलाई चैतसम्म सम्पन्न गर्ने हाम्रो जोडबल छ’, उनले भने ।

 

गलेश्वरदेखि नारच्याङपुलसम्मको सडकमा समेत न्यून जनशक्ति परिचालन भएका छन् । तातोपानी र बेगखोला क्षेत्रमा थोरै जनशक्ति र मेसिन परिचालन गरेर काम सुरु भए पनि हिउँदयाममा हुनुपर्ने तयारीका साथ निर्माण कम्पनीले काम अघि बढाएको छैन् । म्याग्दी खण्डको काममा भएको ढिलासुस्तीबारे पटकपटक आयोजना र निर्माण कम्पनीलाई ताकेता गरिए पनि उल्लेख्य मात्रामा कामलाई तीव्रता दिन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । 

 

बेनीदेखि जोमसोम खण्डको काम सम्पन्न नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लावासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलेसमेत सास्ती व्यहोर्दै आएका छन् । जोमसोमको पुथा एयरपोर्ट गाउँका पूर्व गाउँमुखीया रहेका शेरबहादुर गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजना समयमै सम्पन्न नहुँदा बर्खायाममा सास्ती व्यहोर्नुपरेको गुनासो गरे ।  ‘‘ मुस्ताङी जनताले मात्रै होइन यस क्षेत्रको भ्रमणमा आउने पर्यटक र मुक्तिनाथको दर्शन गर्न आउने हजारौँ भक्तजनले सास्ती व्यहोर्नुपरेको छ, निर्माण व्यवसायी कम्पनीलाई आयोजना र नेपाल सरकारलेसमेत आवश्यक ताकेता गरेर कामलाई गति दिनतर्फ ध्यान दिनुपर्ने देखिएको छ’’, उनले भने ।