close

नारायणगढ–बुटवल सडक : हटाइँदै सडक किनारका संरचना

नारायणगढ–बुटवल सडक : हटाइँदै सडक किनारका संरचना

Trulli
ADVERTISEMENT

नवलपुर– नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरु गरिएको छ ।  सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

 

आयोजना प्रमुख रमेशकुमार दिस्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिए । ‘बिजुलीका पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो’, आयोजना प्रमुख दिष्टीले भने, ‘योजनाले आफ्नै खर्चमा बिजुलीका पोल हटाउन सुरु गरेको छ ।’ सडक विस्तारका लागि ड्रेनेज खन्ने बेला खानेपानीका पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ ।
‘१ वर्षअघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौँ, तर बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिएन’, उनले भने, ‘अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदै छौँ, चाँडै हटाएर सकिन्छ ।’


बिजुलीका पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमि सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए । 


‘निर्माण पक्षले यो वर्ष १० किमि सडक कालोपत्र गर्ने गरी काम अगाडि बढाएको छ’, आयोजना प्रमुख दिष्टीले भने, ‘यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।’

 

पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले दाबी गरे । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मत गर्ने काम भइरहेको उनको भनाइ छ ।


 
९० प्रतिशत रुख काटियो

 

सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रुख कटान भइसकेको आयोजनाले जनाएको छ । ‘सडक विस्तारका लागि हामीले करिब ३७ हजार रुख काट्दै छौँ’, उनले भने, ‘अहिलेसम्म ३५ हजार जति रुख काटिएको छ । अब केही स्थानमा मात्रै रुख कटानको काम बाँकी छ ।’ रुख कटानको काम बाँकी रहेको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने जंगल क्षेत्रमा रुख कटानको काम भइरहेको आयोजना प्रमुख दिष्टीले बताए । 

 

सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताए ।

 

‘पहिलेका साइट प्रमुखले काम नगर्ने, हामीलाई नटेर्नेलगायतका काम हुँदा सडक विस्तारले सोचेअनुसार प्रगति हासिल गर्न सकेको थिएन’, उनले भने, ‘अहिले नयाँ प्रमुख आएपछि कामले गति लिएको छ । अब भने काम तीव्रगतिमा हुनेमा हामी आशावादी छौँ ।’ 


सडक विस्तारका क्रममा हालसम्म पुँजीगत खर्च ३५ करोड ७५ लाख रुपैयाँ मात्रै भएको आयोजनाले जनाएको छ । सो खण्डको कुल लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडक खण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो ।

 

एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तारको सुरु भएको सो सडकको काम सुरु भएको करिब ३५ महिना पुगेको छ । निर्माण सुरु भएको ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २४ माघ ०७५ मा सम्झौता भएर काम सुरु भएको थियो । 


सो सडक खण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ ।

 

हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किमि सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।

 

बजार क्षेत्रमा सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमि खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको चार किमि सडक भने तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालो चढ्ने खण्डमा थप एक लेन सडक निर्माण हुनेछ ।