पर्सा– वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा गाउँमा निर्माण गरिएको ग्रिन हस्पिटल म्यानेजमेन्ट सेन्टर सञ्चालनमा आएको छ । अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्न उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । ६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार महानगर प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरे ।
गत १५ असारमै निर्माण सम्पन्न भए पनि सेन्टर हस्तान्तरणलगायत प्रक्रियाले सञ्चालनमा ढिलाइ भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले बताए । वीरगञ्जका दुई दर्जन बढी अस्पताल र दर्जनौँ क्लिनिकबाट निस्किने फोहोर उक्त केन्द्रमा व्यवस्थापन गरिनेछ ।
दुई वटा अटो क्लेब तयारी अवस्थामा राखिएको सेन्टरमा अत्याधुनिक प्रविधि जडान गरिएको महानगरले बताएको छ । जडान गरिएका अटो क्लेब नेपालकै सबैभन्दा ठूलो साइजको भएको जडान कम्पनी अमृत जलुकेनी जेभीका प्रतिनिधि नवराज खड्काले जानकारी दिए ।
अटो क्लेबको एउटाको साइज ३५१ लिटर क्षमताको रहेको उनले बताए । त्यसैगरी एकै दिन ४ टन फोहोर प्रशोधन गर्न सक्ने २१ किलोको वासिङ मेसिन पनि सेन्टरमा जडान गरिएको वीरगञ्ज महानगरले जनाएको छ । भविष्यलाई लक्षित गरी थप फोहोर उत्सर्जन भए त्यसलाई स्टोर गरी पुनः व्यवस्थापन गर्ने पूर्वाधारसहितको सेन्टर बनाइएको वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले बताए ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र प्रधानले यस क्षेत्रका अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापनमा गर्ने सेन्टर निर्माण हुनु सकारात्मक रहेको सुनाए । २५ मंसिर ०७७ मा सम्झौता भएको सेन्टर निर्माण गत १५ असारमा सम्पन्न भएको थियो ।