बैतडी–कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण नदीमा आएको बाढीले पुल बगाएपछि सिगास गाउँपालिका वडा नम्बर ६ र ७ का बासिन्दाले काठेपुल निर्माण गरेका छन् ।
न्वाघरी गाड नदीमा बनाइएको आरसिसी पुल बाढीले बगाएपछि स्थानीयले २ वटा काठेपुल निर्माण गरेका हुन् । नदीबाट आउजाउ गर्न तत्काल अन्य व्यवस्था नभएकाले काठेपुल निर्माण गरिएको सिगास गाउँपालिका वडा नम्बर ६ का स्थानीय डम्मर साउदले जानकारी दिए ।
विद्यालय जाने बाटोको पुल बगाएपछि स्थानीयले काठेपुल निर्माण गरेको उनले बताए । उनले भने, ‘कात्तिक पहिलो साताको बेमौसमी वर्षाले आरसिसी पुल बगाएपछि आउजाउमा समस्या भयो । बालबालिकालाई विद्यालय जानसमेत समस्या भएपछि पुल निर्माण गरेका हौँ ।’
नदीमा आएको बाढीले दुई ठाउँका आरसिसी पुल बगाएपछि दुवै ठाउँमा काठेपुल निर्माण गरिएको स्थानीय शिक्षक पदम साउदले बताए । उनले भने, ‘वडा नम्बर ७ का विद्यार्थीको गणेश माविमा आउने बाटोमा पर्ने पुल बगाएपछि स्थानीयले मिलेर काठेपुल निर्माण गरेका छन् । अहिले सोही पुलबाट आउजाउ भइरहेको छ ।’
गणेश माविमा अध्ययनरत बालबालिका र शिक्षकलाई न्वाघरी नदीमा पुल नहुँदा विद्यालय पुग्न मुस्किल भएपछि पुल निर्माण गरिएको वडा नम्बर ७ का शंकरदत्त अवस्थीले बताए ।
उनले भने, ‘नदीमा पुल नहुँदा हामीलाई पालिकासम्म जानसमेत समस्या थियो । त्यसैले तत्कालका लागि काठेपुल निर्माण गरेका हौँ ।’