काठमाडौं– देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत असोज मसान्तसम्म ६६५ स्थानीय तहमा इन्टरनेट जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याकेजअन्तर्गत असोज मसान्तसम्ममा ९४ दशमलव ७३ प्रतिशत स्थानमा उच्चगतिको इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणको तथ्याङ्कानुसार १८ प्याकेजमध्ये १६ प्याकेजमार्फत ६५ जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत इन्टरनेट जडान सम्पन्न भएको छ । यस्तै एउटा प्याकेजअन्तर्गत पाँच जिल्लामा ५० प्रतिशतभन्दा बढी जडान सम्पन्न भएको छ । यस्तै चार जिल्लाका तोकिएबमोजिमका स्थानमा ३० प्रतिशतभन्दा बढी ब्रोण्डब्याण्ड इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार १८ प्याकेजका १५ हजार ९८२ स्थानमध्येमा हालसम्म १५ हजार २१० स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ भने ७७२ स्थानमा इन्टरनेट जडान बाँकी छ ।
प्राधिकरणको तथ्याङ्कानुसार ७०२ स्थानीय निकायमध्येमा असोज मसान्तसम्म ६६५ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ भने ३७ स्थानीय तहमा जडान भइरहेको छ । यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्येमा हालसम्म पाँच हजार ६०० स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्येमा हालसम्म चार हजार ९४६ स्थान र चार हजार १२२ स्वास्थ्य संस्थामध्येमा हालसम्म तीन हजार ९८२ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ ।
कूल ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार रकममध्येमा हालसम्म ३ अर्ब ८९ करोड ७० लाख रकम ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन ।