close

प्राधिकरणले पायो ४९०.२ मेगावाटको अरुण–४ जलविद्युत् आयोजनाको लाइसेन्स

प्राधिकरणले पायो ४९०.२ मेगावाटको अरुण–४ जलविद्युत् आयोजनाको लाइसेन्स

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले विद्युत् प्राधिकरणलाई अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र दिएको छ । 


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो ।
विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो । 


प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्दछ ।  अरुण–४ को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुई आयोजना एकैसाथ अगाडि बढाउनेछ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रुपमा जनताको जलविद्युत् कायक्रमअन्तर्गत अगाडि बढाइने बताए । 

 

‘अरुण–४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो । माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक÷डेढ वर्षभित्रै टुंग्याएर अगाडि बढाउँछौँ’, घिसिङले भने, ‘आयोजनाबाट प्राप्त लाभ नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिनेछ ।’

 

विभागले अरुण–४लाई नदीको बहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४ लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो । 

 

अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका वडा नम्बर ४ र ५ स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । 

 

बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) मा लगिनेछ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका वडा नम्बर ३ स्थित सजुवाबेसीमा भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिनेछ ।

 

विद्युत्गृहबाट विद्युत् उत्पादन गरी ४७३.४ किलोमिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिनेछ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ । 

 

संखुवासभा सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमै पर्दछ । विद्युत्गृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ । 

 

विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ) छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ ।