बाजुरा– बाजुराको कोल्टी–पिलुचौर सडक खण्डको मटेला नजिक सडक अवरुद्ध भएको करिब दुई साता पुगेको छ । सडक अवरुद्ध भएको लामो समयसम्म पनि निर्माणमा कसैले चासो नदिँदा सर्वसाधारणलाई आउजाउमा सास्ती भएको छ ।
मटेलाको घुम्ती नजिक कुलाको पानी थुनिएर बाटो अवरुद्ध भएको करिब दुई साता पुग्न लाग्दा पनि बाटो नबनेपछि कोल्टी बजार क्षेत्रमा आउजाउ गर्ने यात्रुले सास्ती भोग्नुपरेको हो ।
अहिले दसैँ, तिहार नजिक आइरहेको छ । दैनिक सयौँको संख्यामा यही बाटो हुँदै यात्रु ओहोरदोहोर गरिरहेका छन् । तर, बाटो मर्मतको सुरसार नभएपछि यात्रुले ७ किलोमिटरको दूरीमा दुई वटा गाडी फेर्नु परेको दुखेसो गरेका छन् ।
गाडी फेर्नुपर्दा १ सय रुपैयाँ भाडा लाग्ने पिलुचौरसम्मको २ सयदेखि २ सय ५० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ भने समयमै गाडी नपाइने समस्याले आउजाउमा सास्ती भइरहेको छ । बिरामी लिएर आउँदा पनि समयमा गाडी पाइँदैन । ‘लामो समयसम्म बाटो निर्माणको काम भएको छैन’, स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का स्थानीय शंकरप्रसाद उपाध्यायले भने ।
आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडक दुई सातादेखि अवरुद्ध हुँदा पनि नगरपािलकाले अहिलेसम्म ठोस पहल नगरेको उनले बताए । जिल्लाकै हवाई यातायातले समेत जोडिएको यस क्षेत्रबाट बाजुरा मात्र नभई हुम्ला र मुगुलगायत स्थानबाट समेत स्थानीय आउजाउ गर्छन् । टाढा–टाढाबाट आउने यात्रुलाई बाटो अवरुद्ध छ भन्ने थाहा नहुने हुँदा यहाँ आएपछि समस्या झेल्नुपर्ने अवस्था छ ।
बूढीनन्दा नगरपालिकाले बाटो मर्मतका लागि आवश्यक तयारी भइरहेको बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले बाटो चाँडै मर्मत हुने जानकारी दिए । उनले भने, ‘बर्खाका कारण अवरुद्ध बनेको सडक मर्मतका लागि पहल भइरहेकाले चाँडै निर्माण हुन्छ ।’