विराटनगर– विराटनगर महानगरपालिकाभित्र अकासे पुल निर्माणमा स्थानीयको अवरोधका कारण निर्माण प्रक्रिया रोकिएको छ । विराटनगर महानगरपालिकामा सवारीसाधनको चाप बढ्न थालेपछि यातायात सहज बनाउन विराटनगरका तीन स्थानमा अकासे पुल निर्माण गर्ने अवधारणा ल्याएको थियो ।
२ चैतमा विराटनगर महानगर प्रमुख भीम पराजुलीले तीन वटा अकासे पुलको एकै पटक शिलान्यास गरेका थिए । ६ महिनाभित्र निर्माण सक्ने गरी शिलान्यास भए पनि अझै निर्माणको नथालिएको हो । पुल निर्माणमा हुने स्थानमा सर्वसाधारणले अवरोध गरेपछि शिलान्यासपछि काम रोकिएको छ ।
विराटनगर महानगरपालिकाले २ करोड ४७ लाख रुपैयाँमा कञ्चनबारी, बरगाछी र घाँस चोकमा पुल बनाउन बरगाछीमा शिलान्यास गरिएको थियो । तीन ठाउँमा अकासे पुल निर्माण २५ चैत २०७७ मा सम्झौता भएर शिलान्यास गरिएको थियो । कञ्चनबारीमा निर्माण हुन लागेको अकासे पुलको लागत ९९ लाख १४ हजार ४३ रुपैयाँ छ । यसको ठेक्का आरके जेभीले पाएको छ ।
यस्तै, बरगाछीमा कला बिल्डर्सले ७५ लाख ८४ हजार २ सय ९ रुपैयाँमा ठेक्का पाएको छ भने रोडशेषमा बन्ने अकासे पुलको लागत १ करोड ४ लाख ३१ हजार ५ सय ११ रुपैयाँ छ । यसको ठेक्का कला बिल्डर्सले पाएको छ । विराटगरको सौन्दर्य बढ्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र नागरिकलाई सडक वारपार गर्न सुविधा दिने उद्देश्यले अकासे पुल निर्माणसँगै भित्री भागमा महानगरको खाली जग्गामा सामान्य उद्यान बनाउने योजना छ ।
महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको जग मात्रै कंक्रिट (सिमेन्ट) को हुनेछ । ठेकेदार कम्पनीले जगदेखि माथि प्रयोग हुने स्टिल संरचना तयार गरिसकेका छन् । तर, काम सुरु नहुँदा कोसी प्रोजेक्ट चोक नजिकै निर्माण सामग्री थन्किएको छ । जग हाल्न सुरु गरिएकाले पुल तयार गर्न महिना दिन पनि नलाग्ने उनले बताए ।
विराटनगर महानगर प्रमुख पराजुलीका अनुसार कञ्चनबारीमा कांग्र्रेस प्रदेश सांसद चुमनारायण तबदारसहितले आफ्नो घरअघि पुल बनाउन नदिने भन्दै काम अघि बढाउन दिएका छैनन् । उनीहरूले महानगरमा लिखित निवेदन दिएका छन् । रोडशेष चोकनजिकै कांग्र्रेस मोरङ सचिव नागेश कोइरालाले आफ्नो जग्गाअगाडि बनाउन नदिने भन्दै अवरोध गरेका छन् । कोइरालाले नमानेपछि जग खनेर छाडिएको छ । बरगाछीमा पनि पुल नजिक पर्ने घरधनीले रोकेका छन् । सबैतिर अवरोध भएपछि काम अघि नबढाएको उनले बताए ।