खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको पंखु खोलामाथिको मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनी सिरुवा कन्स्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाइको पुल ३ वर्र्षदेखि अलपत्र परेको हो ।
२०७५ असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म दुई किनारामा पिलर मात्र ठड्याउनेबाहेक अरू काम हुन नसकेको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला पुल २ करोड २९ लाख रुपैयाँमा पूरा गर्ने गरी सिरुवा कन्स्ट्रक्सनले ७ असोज २०७२ मा ठेक्का सम्झौता गरेको थियो ।
तर, पुलको दुई पिलर ठड्याएपछि ठेकेदार काम छाडेर बेपत्ता बनेको स्थानीय बताउँछन् । ठेकेदारले करिब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।
छिमेकी भोजपुरसँग जोड्ने सडक खण्डमा पर्ने सो पुलको सब–स्ट्रक्चर र फाउन्डेसनको काम भइसकेको छ । तर, सुपर–स्ट्रक्चरको काम बाँकी छ ।
‘पंखु खोलाको पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदारले काम गरेनन्,’ इन्जिनियर श्रेष्ठले भने, ‘पुलको अवस्था हेर्दा निर्माण जिम्मा लिएकालाई कारबाही गर्नुपर्ने देखिएको छ । तर, सरकारले म्याद थप भनिदिन्छ । कर्मचारीलाई काम गर्न गाह्रो छ ।’
पंखु खोला पुलको दोस्रोपल्ट थप भएको म्यादसमेत २०७७ असारमै सकिएको थियो । सम्झौता म्याद गुज्रेको ३ वर्ष बित्दासमेत पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ ।
निर्माण कम्पनीले आवश्यक निर्माण सामग्रीसमेत निर्माण स्थलमा जम्मा गर्न सकेको छैन । बेलामा पुल निर्माण नहुँदा आउजाउमा समस्या भइरहेको स्थानीय स्वास्थ्यकर्मी रुपक बुढाथोकीले बताए ।
पुल निर्माणको काम अलपत्र परेपछि २०७६ मा १५ दिने सूचना प्रकाशित गरिएको थियो । सूचना प्रकाशित गरेपछि प्रतिनिधिका रूपमा हरिनारायण देवकोटालाई निर्माण स्थलमा पठाएको ठेकेदार कम्पनीले पुलको थप भौतिक प्रगति भने देखाउन नसकेको स्थानीयले बताए । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा जनप्रतिनिधि एवं नेताको ध्यानाकर्षण हुन सकेको छैन ।
तीन पुल निर्माणको काम अझै अनिश्चित
मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डका तीन वटा खोलामा अझै पुल निर्माणको सुरसार छैन । चखेवाभञ्ज्याङ–दिक्तेलको दिक्तेल–माम्खा सडक खण्डमा कालोपत्रे भइसक्दा सो खण्डका तीन खोलामा निर्माण हुने पुलको अत्तोपत्तो नभएको हो ।
दिक्तेल–माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा कहिलेबाट पुल निर्माण सुरु होला भन्ने प्रतीक्षाकै विषय बनेको छ । यद्यपि, छेपे खोलाको पुलको डिजाइन स्वीकृत भएर लागिसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
भालु खोला र मेवा खोलाको पुलको डिजाइन भइरहेको जनाइएको छ । ‘छेपे खोलाको पुलको डिजाइन स्वीकृत भएर ठेक्का भइसकेको छ । सम्झौता भएर यो हिउँदबाट काम होला,’ इन्जिनियर श्रेष्ठले भने, ‘भालु खोला र मेवा खोला पुलको डिजाइन कन्सल्टेन्टले दिइसकेको छैन । यो वर्ष ठेक्का हुन्छ होला ।’
यस्तै, माम्खा–दारुला सडक खण्डको सरुवा खोलामा भने रि–डिजाइन गरेर पुल निर्माण गरिएको छ । पुरानो डिजाइनअनुसारको पुल बनाउँदा भुलभुले देउधामलाई असर गर्ने देखिएपछि सरुवा खोलामा डिजाइन परिवर्तन गरेर निर्माण गरिएको हो ।
रि–डिजाइनका कारण पुल निर्माणको काम झन्डै वर्ष दिन पछि धकेलिएको जनाइएको छ । दारुला–पेलुङ सडक खण्डमा पर्ने लप्सेखोला र दाम्दे खोला, पेलुङ–सेखुवा सडक खण्डको साप्सु खोलाको पुल भने तयार भइसकेको छ ।
परिणामविहीन निरीक्षण
पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाको प्रगति, ढिलासुस्ती र गुणस्तरबारे निरीक्षण गर्न २०७६ जेठमा संघीय संसद्को विकास तथा प्रविधि समिति संयोजक कल्याणी खड्का नेतृत्वको टोली खोटाङ–भोजपुर–धनकुटा हुँदै पाँचथर पुगेर फर्कियो ।
सांसदको टोली लिएर संघीय संसद्को विकास तथा प्रविधि समितिका संयोजक नै निरीक्षण र अनुगमनमा हिँडेपछि मध्यपहाडी लोकमार्गको कामले गति लिने अपेक्षा थियो । तर, त्यो अनुगमन औपचारिकतामै सीमित हुन पुगेको स्थानीय बताउँछन् ।
दिक्तेलमा आयोजित अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र स्थानीयले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोलाको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको भन्दै पटक–पटक समितिको ध्यानाकर्षण गराएका थिए ।
समितिको टोली सोही अलपत्र पंखु खोलाको पुलको पिलर हेर्दै अघि बढे पनि न पुलको काम सुरु भयो, न त ठेकेदारमाथि नै कारबाही । सडक तथा पुलको ढिलासुस्तीका विषयमा समितिको निरीक्षणको कुनै प्रभाव र प्रतिक्रिया नदेखिएको स्थानीयको गुनासो छ ।