कास्की- पोखराको फेवाताल, अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । तर, विश्वका पर्यटक घुम्ने ताल अहिले क्षतविक्षत छ । दैनिक लेदो र ढुंगाले पुरिएको छ । एकातिर मानवीय अतिक्रमण बढ्दो छ भने प्राकृतिक विपद् समेत तालमै बज्रिन्छ । फेवाताल जोगाउनका लागि शिरमा बनाईएका सिल्ट्रेसन ड्यामहरू अहिले भत्किन थालेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २३ डुडेको फाँटमा निर्माण भएको हर्पन खोला सिल्ट्रेसन ड्याम असार २४ को अविरल वर्षाले बगाएको छ । फेवातालको मुख्य स्रोत हर्पन खोलामा निर्मित सिल्टे«सन ड्याम निर्माण भएको दुई वर्ष नपुग्दै बगाएको हो । ड्याम फुटेसँगै ठुलो खेतका करिब १५ घर जोखिममा परेका छन् ।
नजिकका वस्तीमा पानी पसेको छ भने धानखेतमा ठूलो क्षति पुगेको छ । अघिल्लो वर्ष खहरे खोलामा निर्माण भएको सिल्टे«सन ड्याम निर्माणकै बेला कमजोर बनेको थियो । अघिल्लो वर्षामा केही भत्किएको थियो । हर्पनको ड्याम बनाउन मात्रै ७ करोड ८८ लाख लागत लागेको छ । निर्माण कम्पनीले गुणस्तरमा लापरवाही गर्दा यो विपद् निम्तिएको दावी स्थानीयको छ ।
गण्डकी प्रदेश सरकार र महानगरको २८ करोड भन्दा बढीको लागतमा ४ वटा ड्याम निर्माण भएका थिए । हर्पन सहित अँधेरी, लौरुक र बेतेनीमा बनाइएको ड्याम अहिले भत्किन थालेको छ । फेवातालमा वर्षेनि जम्मा हुने गेग्य्रान रोक्न सरकारले ड्याम बनाएको हो । कामको गुणस्तर नभएका कारण दुई वर्ष नपुग्दै ड्याम भत्किएको महानगरका वडा नम्बर २३ कार्यवाहक वडाध्यक्ष भरत भण्डारीको दावी छ ।
फेवातालमा मुहानबाट वर्षेनि १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवामा झर्ने गरेको तथ्यांक छ । यसैगरि पुरिँदै गए अवको ५० वर्षभित्रै ताल जमिनमा परिणत हुने विज्ञको चेतावनी छ । गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएका थिए । बाँधमा जम्मा भएका ढुंगा, बालुवाजन्य पदार्थ बेच्न महानगरले निजी कम्पनीलाई दिएको छ ।
जथाभावी ठेकेदारले ड्याम चलाईदिँदा झनै कमजोर हुन पुगेको छ । अहिले फेवाको शीरमा नयाँ ठूला पहिरो झरेको छ । यसले गर्दा तालमा झन् जोखिम बढेको महानगरको तर्क छ । तालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा ड्याम बनाईएको छ ।
महानगरकै तथ्यांक अनुसार खोलाहरुबाट वार्षिक १ लाख ४२ हजार घनमिटर सिल्ट तालमा जम्मा हुने गरेको छ । फोताल संरक्षण गर्न बनाईएको पोखरीबाट जम्मा भएको सिल्ट झिक्ने र व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले फेवा सिल्टेसन प्रालिलाई दिएको छ । तर, कमसल र गुणस्तरहीन सामग्रीको प्रयोग हुँदा नै फेवातालको अस्तित्वमा संकट निम्तिएको हो ।