काठमाडौ– नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले लुम्बिनी प्रदेशमा आइतबारदेखि फाइबर टु दी होम (एफटिटिएच) मार्फत आईपी टिभी सेवा सञ्चालन गरेको छ । एनटी टिभी ब्रान्डको यो सेवा पहिलो चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायत स्थानमा वितरण थालिएको हो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
टेलिकमले एफटिटिएच सेवाबाट हालसम्म भ्वाइस र डाटा सेवा उपलब्ध गराइरहेको थियो । अब एनटी टिभी सेवा पनि उपलब्ध गराएपछि ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउनेछ ।
हाल विस्तरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानल उपलब्ध छन् । नेपालमा उपलब्ध सबै विदेशी टेलिभिजन च्यानल ग्राहकलाई उपलब्ध हुनेछ।
हाल कम्पनीले बेसिक र प्रिमियम गरी २ प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानल र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानल हेर्न सकिने टेलिकमले बताएको छ ।
हाल यो सेवा काठमाडौं उपत्यकाबाहेक बनेपा र चितवनमा पनि सञ्चालनमा छ । टेलिकमले १७ पुस २०७७ मा पहिलो पटक एनटी टिभी सेवा वितरण सुरु गरेको हो ।