close

जनता आवासले दिएको खुसी

जनता आवासले दिएको खुसी

Trulli
ADVERTISEMENT

महोत्तरी- बर्दिबास नगरपालिका वडा नम्बर ३ की रञ्जिता विकले साना छोराछोरीसहित वर्षौंसम्म सानो कटेरोमा गुजारा गरिन् । वर्षायाममा विक र उनका छोराछोरीले भोगेको पीडा सम्झिनसक्नुको छ । 

 

आर्थिक स्थिति कमजोर भएकै कारण विकलाई छोराछोरी पढाउन र बिहान-बेलुका छाक टार्न धौ-धौ थियो । छानामा चित्रा, सुत्नलाई खुला कोठा, रातभरि छाना छिचोल्दै पानी भित्र छिरेर भिजेका डसेना सुकाउनुपर्ने र घाम नलागे भिजेकै ओछ्याएर सुत्नुपर्ने बाध्यता थियो ।


प्रदेश सरकारले जनता आवासअन्तर्गत घर बनाइदिएपछि अहिले भने विक ढुक्क छन् । २ वटा कोठा र एउटा शौचालयसहित करिब ३ लाख रुपैयाँ लगानी गरेर आवास निर्माण गरिदिएपछि अघिल्ला बर्खामा भोगेका पीडाबाट मुक्त बनेको विक सुनाउँछिन् ।

 

‘श्रीमान् पनि हुनुहुन्न, कतै अर्कै श्रीमती ल्याएर बसेको भन्ने सुनेकी छु । साना छोराछोरी छाडेर हिँडेपछि एउटा घर नहुँदा रातभरि जाडो र बर्खामा चुहिने पानीले रोइकराइ सुन्दा आफैंलाई सहिनसक्नु हुन्थ्यो’, विकले प्रदेश सरकारले बनाइदिएको घरतर्फ हेर्दै खुसीका आँसु झारिन् ।

 

रञ्जिता मात्र हैन, उमेरले डाँडो काटिसकेका उनका ससुरा चतुरमान विक पनि उस्तै खुसी छन् । छोराले बुहारीसहित बूढा भइसकेका बाआमालाई छाडेर हिँडेपछि रञ्जितासँगै उनीहरूले पनि कयौँ रात जागै बसेर बिताए ।

 

छानो छिचोलेर भित्र चुहिएको पानी टाल्दाटाल्दै रातभरि बिताएको नमीठो सम्झना चतुरमानसँग छ । अहिले भने सरकारले बनाइदिएको पक्की घर पाएपछि विक दम्पती दंग छन । ‘यसपालि सरकारले ठूलो गुन लगाएको छ । हामीजस्ता थातबास नभएकालाई बास बनाइदियो’, चतुरमान खुसी सुनिए ।

 

यद्यपि जनता आवास निर्माणका लागि श्रमिकको व्यवस्था नहुँदा कतिपयलाई यो कार्यक्रम निल्नु र ओकल्नुसमेत बन्यो । श्रमिकलाई काममा लगाउने पैसा नहुँदा सबै काम आफैंले गर्नुपर्ने । अझ इन्जिनियरको डिजाइनअनुसार काम गर्नुपर्दा घर बनाउने अवधिभर समस्या भोग्नुपरेको सर्वसाधारणको गुनासो छ ।

 

बर्दिबास नगरपालिका मात्र जनता आवासबाट २५ वटा बढी घर बनेका छन । इँटा, बालुवा तथा अन्य सामान सडक किनारमा ल्याएर छाडिदिने र निर्माण स्थलसम्म पु¥याउने मान्छे नहुँदा समस्या भोगेको चतुरमान विकले बताए ।

 

‘हामी २ जना बूढाबूढीको डोकोमा इँटा बोक्दाबोक्दै पछाडिको छाला गएको छ । कसैलाई काम गर्न बोलाउँ पैसा छैन, श्रमदान गर्न कोही मान्दैनन् । सुरुमा सरकारले दिएको घर बनाउनै सकिँदैन जस्तो लागे पनि पछि बनायौँ’, चतुरमान भन्छन् ।

 

जनता आवासमा निर्माण सामग्रीबाहेक अन्य केही पनि व्यवस्था छैन । अझ दलितको लागि मात्र छनोट गरिएको योजना विवादित भएको प्रदेशसभा सदस्य सारदादेवी थापा बताउँछिन् ।

 

‘कतिपय गैरदलितको पनि दलितको भन्दा आर्थिक स्थिति कमजोर छ । क्षत्री, बाहुन भएकै आधारमा त्यस्ता सुविधावाट वञ्चित गर्नुहुँदैन’, उनको सुझाव छ ।

 

बर्दिबासबाहेक महोत्तरीका अन्य पालिकाका लाभग्राही घर निर्माणका लागि खनिएका जग हेरेर बसेको साढे २ वर्ष बित्न लागेको छ । तैपनि घर बन्ने कुनै सुरसार छैन । 

 

गौशाला नगरपालिका वडा नम्बर ४ मा मात्र ९१ वटा घर बनाउन सुरु गरिएको २ वर्ष बितिसकेको छ । सर्वसाधारण घर बन्ने आशमा भएको घरसमेत भत्काएर अस्थायी टहरामा कष्टकर गुजारा गर्दै आएका छन् ।

 

‘सरकारलाई बास नभएकाहरूको अवस्था देखेर दया लाग्नुपर्ने हो’, सुनील सादा भन्छन् ।

 

जनप्रतिनिधि भने कोरोनाको कारणले जनता आवासको काम रोकिएको बताउँछन् । गौशला नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामबाबु साह २ वर्षसम्म रोकिएको कामलाई निरन्तरता दिन सम्बन्धित निकायलाई झकझकाइरहेको दाबी गर्छन् ।

 

‘अब काम तुरुन्तै अगाडि बढ्छ । इँटा र निर्माण सामग्री ल्याउने काम सुरु भएको छ’, अध्यक्ष साहले भने ।