काठमाडौं- काठमाडाैं महानगरपालिकाले खुलामञ्चमा भएका अस्थायी संरचना हटाउने कामलाई तीव्रता दिएको छ । पहिलो चरणमा केही संरचना र बार हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो ।
दरबार हाइस्कुल निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण सम्पन्न चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
अस्थायी बसपार्कलाई अन्यत्र व्यवस्थापन गरेर खुलामञ्चलाई खुलाउने तयारी रहेको ज्ञवालीले जानकारी दिए ।
नगर प्रहरी उपरीक्षक धनपति सापकोटाका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
आइतबार खुलामञ्चमा पुनर्निर्माणका लागि निर्माण सामग्री राख्न बनाइएका टहरा वरिपरिका बार भत्काइएको छ । त्यहाँका अस्थायी संरचना क्रमशः भत्काइनेछ ।