दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को बथोली खरी खानीसम्म सडक पहुँच पुगेपछि उत्खननमा सहज भएको छ । २ वर्षबाट उत्खनन सुरु गरेको जियो मिनिरल रिजर्भस प्रालि कञ्चनपुरले सडक नहुँदा खरी उत्खननमा समस्या झेलेको थियो ।
२ साताअघि मात्रै खरी खानीसम्म सडकको पहुँच पुगेपछि अहिले उत्खननमा सहज भएको जियो मिनरल रिजर्भस प्रालिका निर्देशक डा. सुरज भट्टले बताए । ‘विगतमा सडक नहुँदा ढुवानीमा समस्या थियो । उपकरण ल्याउन सकिएको थिएन । अहिले गाउँपालिकाले कालागाड–सिमार कृषि सडक निर्माण गरेपछि खरी उत्खननमा सहज भएको हो’, भट्टले भने ।
यो सडकबाट खानीसम्म कम्पनीले झन्डै ७ सय मिटर सडक आफैंले खनेको छ । अहिले खानीसम्म ट्रयाक्टर पुग्न थालेपछि खरी ढुवानीमा सहज भएको निर्देशक भट्टले बताए । उनले भने, ‘कोरोनापछि खरी उत्खननमा केही ढिलाइ भयो । अहिले पनि मजदुर अभावले लक्ष्यअनुसार उत्खनन हुन सकेको छैन । हालसम्म १ हजार टन खरी उत्खनन गरिएको छ ।’
गत वर्ष कम्पनीले ४ सय ५० टन खरी भारत निकासी गरेको थियो भने १ हजार टन स्वदेशमै बिक्री गरेको हो । अहिले कम्पनीले धनगढीस्थित सुप खरीढुंगा बिक्री केन्द्रमा बिक्री गर्दै आएको छ ।
कम्पनीले स्थानीयलाई रोजगारी दिए पनि पर्याप्त मजदुर भने पाउन सकेको छैन । दुहुका लोकेन्द्रबहादुर बम खरी खानी उत्खननपछि २ वर्षयता स्थानीयले काम पाउन थालेको बताउँछन् ।
‘विगतमा कामकै लागि भारत जानेलाई यही क्षेत्रमा अड्याउन सके सहज हुन्छ’, उनले भने । कम्पनीले खरी उत्खननको मात्रा बढे छिट्टै भारत निकासीका लागि प्रक्रिया थाल्ने जनाएको छ । कम्पनीले २० पुस २०७४ बाट खरी उत्खननको काम थालेको थियो ।
विगतका विभिन्न अध्ययनले जिल्लामा सिसा, तामा, फलाम, खरीलगायत खनिज पदार्थ उत्खननको सम्भावना देखाए पनि लामो समयपछि मात्र खरी खानी उत्खनन सुरु भएको हो ।
यो खानीमा १० जनासम्मले दैनिक काम गरिरहेका छन् । यस क्षेत्रमा २०८९ पुससम्म खरी उत्खनन गरिनेछ । यहाँको ५.८७ वर्ग किलोमिटर क्षेत्रफलमा खरी उत्खनन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो क्षेत्रबाट १५ वर्षमा ३ लाख २० हजार टन खरी उत्खनन गर्ने योजना छ । दुहुमा १५ वर्षसम्म ३ लाख २० हजार टन खरी उत्खनन् गर्ने लक्ष्य छ ।