बाजुरा– बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मम्मको करिब ४२ किलोमिटर सडक निर्माण अगाडि बढेको छ । कोल्टी–मार्तडी सडक खण्ड शिलान्यास भएको करिब २० वर्षपछि सडक निर्माणले गति लिएको हो । जिल्लाको पूर्वी उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहसहित छिमेकी हुम्ला, मुगु र कालीकोटबासीको आउजाउ लक्षित गरी यो सडक निर्माण हुन लागेको हो ।
सडक खण्ड शिलान्यास भएको २० वर्षपछि कोल्टीसम्म पक्की सडक निर्माण गर्ने गरी निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूले सडक निर्माण धमाधम गरिरहेका छन् । सदरमुकाम मार्तडीदेखि ढम्कनेसम्म सडकको डबल कटिङ, मेसिनरी वाललगायत काम धमाधम भइरहेका हुन् ।
२ साताअघि मात्रै सुदूरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मीले मार्तडी–कोल्टी सडकलाई समयमै सम्पन्न गर्न ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय बाजरामा बोलाएर कामलाई गति दिन निर्देशन दिएका थिए । सांसद रेग्मीको निर्देशनपछि सडक निर्माणको जिम्मा पाएको बानियाँ कन्स्ट्रक्सनका विष्णु रावत र ग्याल्वा कन्स्ट्रक्सनका नवराज पुरीले सडक निर्माण अगाडि बढाएका हुन् ।
४२ किलोमिटर रहेको मार्तडीदेखि कोल्टीसम्मको पक्की सडक निर्माणका लागि ग्याल्वा कन्स्ट्रक्सन र बानियाँ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । मार्तडीदेखि कोल्टीसम्म ४२ किलोमिटर पक्की सडक निर्माणका लागि संघ र प्रदेश सरकारले १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ विनियोजन गरेको छ । यसअघि मार्तडी–कोल्टी सडकमा खाल्डाखुल्डी भएपछि जिप तथा ट्रयाक्टलाई आउजाउ गर्न निकै समस्या थियो ।
जगन्नाथले दियो ३ सय ७८ जनालाई रोजगारी
बाजुराको जगन्नाथ गाउँपालिकाले पालिकाभित्रका ३ सय ७८ जनालाई रोजगारी दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले विपन्न परिवारका नागरिकलाई रोजगारी दिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा वडा नम्बर १ देखि ६ सम्मका १ सय ३ ५ जना र आर्थिक वर्ष २०७६÷७७ मा १ सय ३० जनाले १ महिने रोजगाी प्राप्त गरेका गाउँपालिकाका प्रवक्ता डबल विकले जानकारी दिए ।
जगन्नाथले आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाभित्रका बेरोजगार युवाहरूलाई गाउँमै रोजगारी दिने उद्देश्यले अतिविपन्न घरधुरीलाई १ महिने रोजगारी दिन लागि पालिकामा अध्यक्ष रोजगार कार्यक्रमको नीति बनाएर छैटौँ गाउँभाले पास गरेपछि आव २०७६÷७७ मा ६ वडाका १ सय ८० जनाले ३० दिनको रोजगारी प्राप्त गरेको विकले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन चाहने बेरोजगार युवायुवतीका लागि २०७७ साउनमा आवेदन फर्म भर्न सूचना जारी गरेको थियो । उक्त सूचनाको आधारमा जगन्नाथ गाउँपालिकाबाट १ हजार ६३ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।