काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले भवन निर्माणको शिलान्यास गरे ।
१६ असार २०७८ भित्र भवन निर्माण सक्ने सम्झौता भएको छ । अहिले निर्माण निर्माण हुन लागेको नगरपालिकाको पाँचौँ वडा कार्यालय भवन हो ।
यसअघि नै वडा नम्बर ७, ८ ९ र १० को भवन निर्माण सुरु भइसकेको छ । वडा नम्बर २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवा धुलिखेलसँग ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले नगरमा पूर्वाधार निर्माणसँगै अन्य महत्त्वपूर्ण काम सुरु गरिएको बताए ।
प्रविधिमैत्री, अपांगमैत्री र वातावरणमैत्री संरचना निर्माण गरिएको र यसले सेवाग्राहीलाई सहज रूपमा सेवा लिने वातावरण निर्माण हुने तिमल्सिनाको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वडाबाटै जनताका अधिकांश काम हुने भएकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।
हाल वडा नम्बर २ र ४ बाट अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरिएको र अन्य वडामा पनि विस्तार गर्दै लगिने पौडेलले बताए । वडाध्यक्ष सञ्जीव ढकालको सञ्चालनमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।