रूपन्देही- प्रधानमन्त्री केपी ओलीले लुम्बिनी केबुलकार निर्माण आयोजनाको शिलान्यास गरेका छन् । बुटवल उपमहानगरको वडा नम्बर ३ बमघाटमा बन्ने तल्लो स्टेसन फाउन्डेसनमा इँटा राखेर प्रधानमन्त्री ओलीले शनिबार आयोजनाको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले केबुल कार आयोजना निर्माणपछि लुम्बिनी र बुटवलले पर्यटकीय क्षेत्रमा छलाङ मार्ने बताए । आयोजना सम्पन्न गर्न सरकारका तर्फबाट सबै सहयोग र सहजीकरण हुने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
पाल्पाको तिनाउ वडा नम्बर ३ वसन्तपुरमा माथिल्लो स्टेसन रहने केबुलकारको लम्बाइ करिब ३ किलोमिटर हुने कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए ।
पाल्पा क्षेत्रमा पर्ने वसन्तपुरबाट भारतको नौतनवासम्मका दृश्यावलोकन गर्न सकिने र मौसम सधैँ अनुकूल हुने भएकाले यो पर्यटकीय गन्तव्यका रूपमा छिटै स्थापित हुने उनको भनाइ छ ।
ढकालले झन्डै ३ अर्ब रुपैयाँ लगानीमा सुरु भएको परियोजनाले सफल भए व्यवसायीलाई सबै क्षेत्रबाट ऊर्जा मिल्ने विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार अभावका कारण विकट सो क्षेत्रमा केबुलकार निर्माण भए बुटवल आसपासका क्षेत्रको पर्यटकीय विकास हुने दाबी केबुलकार सञ्चालकको छ ।
अस्ट्रियाको कम्पनीले केबुलकार निर्माणको जिम्मा पाउने भएको छ, जसले चन्द्रागिरिमा पनि केबुलकार निर्माण गरेको थियो ।
मन्त्रिपरिषद्े बैठकबाट रूपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर वन क्षेत्र प्रयोगको स्वीकृति दिएको छ । लुम्बिनी केबुलकार प्रालिले २५ वर्षका लागि वन क्षेत्र उपयोग गर्न पाउने सम्झौता छ ।
केबुलकार तथा तारे होटल, मन्दिरलगायतका अन्य पूर्वाधार निर्माणका लागि झन्डै ३ अर्ब रुपैयाँको प्रोजेक्ट बनाएर अघि बढिएको सञ्चालकमध्येका रमेश शर्माले बताए ।
उनका अनुसार यो आयोजनामा मुख्य लगानी चन्द्र ढकालकै रहेको छ । करिब २५ प्रतिशत भने स्थानीय केही जनप्रतिनिधिलगायतको छ ।
यो आयोजनाले बुटवल क्षेत्रको पर्यटनमा विशेष टेवा पुग्ने बुटवल उपमहानगरको दाबी छ । आयोजनाको तल्लो स्टेसन निर्माण स्थलमा भेटिएका बुटवल उपमहानगर वडा नम्बर ४ का वडाअध्यक्ष टंक पराजुलीले भने, ‘जतिसक्दो आयोजना सम्पन्न गर्न सहयोग हुनेछ ।’ बुटवलकै शिर पाल्पाको नुवाकोटसम्म पनि केबुलकार बन्ने कुरा चलेको छ ।