जुम्ला– जुम्ला सदरमुकाम खलंगा हुँदै उर्थु–पटमारा–खाली–न्याउरीघाट भएर मुगुको राराताल जोड्ने बहुवर्षीय सडकमा बजेट अभावले १८ किलोमिटर सडक निर्माण हुन सकेको छैन । मुगुको राराताल पुग्ने सबैभन्दा छोटो पर्यटकीय मार्गको १८ किमि सडक खण्ड बजेट अभावले निर्माण हुन नसकेको हो ।
जुम्ला उर्थु–खाली–बुलबुले हुँदै मुगु जोड्ने सडकको जम्मा दूरी ४० किलोमिटर छ, जसमा २१ किमि सडकमा ४ प्याकेजअन्तर्गत विभिन्न काम भइरहेको छ ।
तर, बाँकी १८ दशमलव ५ किमि सडकमा बजेट नहुँदा कुनै काम सुरु गर्न नसकिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए ।
जुम्ला हुँदै मुगुको राराताल पुग्ने सबैभन्दा छोटो उक्त सडकलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने भनिए पनि पर्याप्त बजेट नहुँदा बीचमै अलपत्र परेको हो । नाग्म–गमगढी सडकभन्दा जुम्ला–उर्थु सडकबाट मुगु राराताल करिब ३ घन्टा छिटो पुग्न सकिन्छ ।
प्रमुख रावलले भने, ‘पटमारादेखि बागमारेसम्म १३.५ किमि र चौथागाउँदेखि बुलबुलेसम्म ५ किमि गरी जम्मा १८.५ किमि सडकको स्तरोन्नति बजेट अभावले हुन सकेको छैन । आवश्यकताभन्दा राजनीतिक स्वार्थमा बजेट छुट्याइने भएकै कारण बहुवर्षीय योजना बजेट अभावले अलपत्र पर्ने अवस्था छ ।’
बाँकी जुम्लादेखि उर्थु, बागमारेदेखि न्याउरीघाट र त्यहाँदेखि काभ्रागाउँसम्मको २१ किमि सडक विस्तार तथा स्तरोन्नति धमाधम भइरहेको प्रमुख रावलले बताए ।
उनका अनुसार सडक चौडा गर्ने, ग्राभेल गर्न आवश्यक ठाउँमा नाला र ग्याबिन पर्खाल निर्माणको काम भइरहेको हो । निर्माण भइरहेको २१ किमि सडकमध्ये ११ किलोमिटर सडक चौडा गर्ने, पर्खाल, नाला निर्माण गर्ने र १० किमिमा ग्राभेल गरिनेछ ।
थप ५२ करोड रुपैयाँ आवश्यक
कर्णालीको पूर्वाधार विकासले गति नलिनुको मुख्य कारण भनेकै बजेट अभाव हो । पूर्वाधार विकासलाई प्राथमिकता दिएको कर्णालीमा सरकारले आवश्यकताअनुसार लगानी गर्न नसकेको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रावल सुनाउँछन् ।
बहुवर्षीय योजना जुम्ला–उर्थु–न्याउरीघाट बुलबुल हुँदै मुगु जोड्ने सडकको अलपत्र १८ किमि स्तरोन्नतिका लागि करिब ५२ करोड रुपैयाँ बजेट आवश्यक पर्ने रावलले बताए ।
‘ट्रयाक खोल्नेबाहेक अरू सबै काम बाँकी रहेकाले अनुमानित ५२ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ’, उनले भने, ‘उक्त १८ किमि सडकमा चौडा पर्ने, नाला बनाउने, ग्याबिन पर्खाल निर्माण गर्ने र ग्राभेल गर्न सो रकम चाहिन्छ ।’
पटक–पटक स्टिमेटसहितको बजेट माग गर्दा पनि सुनुवाइ नहुँदा अहिलेसम्म ठेक्का लगाइएको छैन । केही महिनाअघि कर्णालीका मुख्यमन्त्री, कानुनमन्त्री, सामाजिक विकासमन्त्रीको टोली उक्त सडक अनुगमनमा पुगेर यथार्थ बुझ्दासमेत बजेट जुट्न सकेको छैन ।
वर्षौं पहिले ट्रयाक खोलिएको जुम्ला–मुगु जोड्ने सडकको हालसम्म पनि स्तरवृद्धि नहुँदा जीर्ण बन्दै गएको छ । उक्त सडक निर्माण भई सुचारु भए जुम्लाको आर्थिक, सामाजिक विकाससँगै पर्यटकीय गतिविधि बढ्नेछ ।
जुम्ला र मुगुबासीको जनजीवनसँग जोडिएको उक्त सडकको विकासमा कर्णाली सरकारले ध्यान दिनुपर्ने नागरिक अगुवा राजबहादुर महत बताउँछन् ।