close

स्थानीय तहको विकास निर्माणमा कमिसनको चक्कर

करोड मूल्यको एस्काभेटर थन्क्याएर भाडाका डोजरले सडक खन्दै मालिकार्जुन

स्थानीय तहको विकास निर्माणमा कमिसनको चक्कर

करोड मूल्यको एस्काभेटर थन्क्याएर भाडाका डोजरले सडक खन्दै मालिकार्जुन

Trulli
ADVERTISEMENT

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिकाले सबै वडा केन्द्रमा सडक पु¥याउन आर्थिक वर्ष २०७४÷०७५ मा खरिद गरेको एस्काभेटर २ वर्षयता मर्मत नहुँदा बीच बाटोमै अलपत्र छ ।

 

१ करोड १६ लाख रुपैयाँ लागतमा खरिद गरिएको एक्साभेटर मर्मत नगरी अलपत्र छाडेर भाडामा लिएर गाउँपालिकाको आम्दानी स्वाहा पारिरहेको हो ।


बिग्रेका यन्त्र उपकरण मर्मतसम्भार गर्नुको साटो विकासे गतिविधि ठेक्कामार्फत गरिन थालेपछि ती यन्त्र उपकरण बेकामे र अलपत्र पर्न थालेका हुन् । सो एस्काभेटरलाई सञ्चालन गर्न गाउँपालिकाले चालक र सहचालक गरी २ जना कर्मचारी नियुक्त गरेको थियो ।

 

तर, खरिद गरेको १५ महिनासम्म सो एस्काभेटर चले पनि २ वर्षदेखि भने गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ८ पापनामा अलपत्र छाडिएको छ ।

 

जनप्रतिनिधिले पालिकाको उपकरणलाई मर्मतसम्भार गर्नुको साटो कमिसनको भरमा ठेकेदारका डोजर प्रयोग गर्न थालेपछि गाउँपालिकाको उपकरण अलपत्र परेको स्थानीयको आरोप छ ।


मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता प्रेम पन्तले सबै वडामा सडक विस्तार गर्न एस्काभेटर खरिद गरिए पनि अहिले सो उपकरण बिग्रिएको बताए । उनले समाचार आएपछि अलपत्र परेको एक्साभेटर मर्मत प्रक्रियामा बढेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

 

गाउँपालिकाको वडा नम्बर ५ जाने सडक बनाउँदा २ वर्ष अगाडि एक्साभेटर खराब भएको थियो । मालिकार्जुनका अध्यक्ष नरेन्द्रसिंह धामीले भने उपाध्यक्ष नेतृत्वको समितिले नै एस्काभेटर मर्मत गर्न कार्यपालिकाबाट ४ पटक निर्णय गरिएको दाबी गर्छन् ।


गाउँपालिकाले बिग्रेको एस्काभेटर मर्मत गर्न ४ पटक निर्णय गरेको र त्यसको सम्पूर्ण जिम्मेवारी उपाध्यक्ष नेतृत्वको उपकरण मर्मत समितिलाई दिइएको जनाइएको छ । तर, उपाध्यक्ष पुष्पा अवस्थीले भने गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले मर्मतका लागि बजेट दिनुको सट्टा आफूलाई बदनाम गर्न खोजेको आरोप लगाइन् ।

 

‘निर्णय मात्रै गर्ने तर बजेट माग गर्दा मर्मत शीर्षकमा रकम छैन भन्ने काम अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरेका छन् । महिला भएकै आधारमा आफूलाई बदनाम गर्न उपाध्यक्षले काम गरिनन् भनिएको हो’, उनले भनिन् ।


सो एक्साभेटर मर्मत गराउन लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने भनिए पनि उपाध्यक्ष अवस्थी बजेट विनियोजन नहुँदा मर्मत हुन नसकेको बताउँछिन् । उनले भनिन्, ‘बजेट माग्दा दिँदैनन् अनि अहिले समाचार र सामाजिक सञ्जालमा मेरो संयोजकत्वमा भनेर बदनाम गर्ने काम मात्रै भएको छ ।’

 

एक्साभेटर खरिद गरेदेखि यसअघि कर्मचारीले आफै मर्मतसम्भार भन्दै २०–२५ लाख रुपैयाँ बढी खर्च गरिसकेको उनले आरोप लगाइन् । एक्साभेटर बिग्रेको २ वर्ष हुँदा पनि गाउँपालिकाले २ जना कर्मचारीलाई भने निरन्तर तलब भत्ता खुवाइरहेको उनले जानकारी दिइन् ।