तेह्रथुम- तेह्रथुमको छथर गाउँपालिका केन्द्र जोड्ने सधुवा-शुक्रबारे-ओख्रे सडक खण्डमा ट्रयाक खोलेको ३ दशक बित्यो । ३ दशकपछि बल्ल कालोपत्रेको काम सुरु भएको छ । लामो समयपछि सडक कालोपत्रे हुने भएसँगै स्थानीयमा खुसी छाएको छ ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण निर्माणमा बाधा पुग्ने वा निर्माण कम्पनीले बीचमै छाड्ने हो कि भन्ने प्रश्न उब्जिएको छ । यद्यपि काम समयमा सक्ने गरी निर्माण कम्पनी लागिपरेको छ ।
पूर्वी पहाड जिल्ला तेह्रथुम संखुवासभा, भोजपुर जोड्ने एक मात्र कोसी राजमार्र्गसँगै जोडिएको सडक खण्ड कोरोनाका कारण रोकिएको थियो । लामो प्रयासपछि बल्ल काम सुरु भएको छ ।
तर, राजनीतिक घटनाक्रमले पुनः काम प्रभावित हुने हो कि भन्ने चिन्ता कायमै छ । प्रतिनिधिसभा विघटनसँगै स्थानीय स्तरमा विकास निर्माणमा प्रत्यक्ष असर पर्न सक्ने स्थानीय मनोज रिमाल बताउँछन् ।
कुल ७० करोड रुपैयाँ लागतमा सडक कालोपत्रे भइरहेको छ । अहिले सडकको कटिङ, ग्याबिङ, नाली निर्माणलगायत काम भइरहेको छ । हिउँदको बुङबुङ धुलो र बर्खाको ग्याजग्याज हिलोमा नागरिकलाई सास्ती त छ नै, सडक खण्डमा ८ महिना मात्रै सवारीसाधन चल्ने गरेका छन् ।
कालोपत्रेको काम समयमै सके यातायातका साधनलाई सहज एवं समयमै पुग्न सकिने र नागरिकलाई समेत सहज हुने सवारी चालक लीला कार्कीको भनाइ छ ।
१६ किलोमिटर सडक कालोपत्रेको जिम्मा निर्माण कम्पनी ओसिसलाई दिइएको छ । हाल सडकको ३० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । तर, निर्माणको कामलाई भने खबरदारी गरिरहनुपर्ने तेह्रथुमका पूर्वसांसद भवानी खापुङले बताए ।
जनताको जनजीवनसँग जोडिएको सडक समयमै सके नागरिकको जीवनमा सहज हुने थियो । पहाडको कुना कन्दरामा उत्पादित कृषि जन्य सामग्री तराईको बजारमा पुग्ने छन् ।