close

अछामका स्थानीय बजार गुलजार 

अछामका स्थानीय बजार गुलजार 

Trulli
ADVERTISEMENT

अछाम- पूर्वी पाँचथरको चियोभन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म पहाडै पहाड जोड्ने मध्य पहाडी राजमार्गको ६५ किलोमिटर सड्क अछाम खण्डमा पर्छ ।

 

उक्त खण्डको काम लगभग अन्तिम चरणमा पुगेको छ । पुष्पलाल लोकमार्ग नाम दिइएको सडक खण्डको अन्य ठाउँमा समेत काम धमाधम भइरहेको छ । 


मध्यपहाडी लोकमार्गअन्तर्गत अछाम खण्ड जोड्न ६५ किलोमिटर सडक निर्माणको काम २०७२ मा सुरु भएको थियो । मध्यपहाडी सडकले अछामका बजार र ग्रामीण जीवन स्तरमा परिवर्तन ल्याउन थालेको छ ।

 

पूर्वी अछामको बेलखेतबाट प्रवेश गरेर अछामको मध्य भागबाट चौखुट्टै हुँदै जाने सडक छेउमा बजार विस्तार, बस्ती विकास, ग्रामीण सडक निमाण र कृषि उत्पादनले चमक ल्याउन थालेको हो । 


मध्यपहाडी राजमार्गले यातायात सहज भएसँगै बजार विस्तार, कृषि उत्पादनमा वृद्धि र बसाइँसराइ रोकेको स्थानीय नमबहादुर विष्टले बताए ।

 

सडक कालोपत्रेपछि यातायात सुविधाका कारण सडक छेउमा बजार विस्तार र आर्थिक क्रियाकलाप बढ्न हुन थालेको उनले सुनाए । 


मध्यपहाडी सडक निर्माणसँगै बेलखेत, विनायक, गैरीटाढ, ठाँटीखाद, ठूलासेन र कैलाशखोला क्षेत्रमा बजार विस्तार हुन थालेका हुन् ।

 

सडक छेउका बजारमा होटल, पसल स्थापना गर्नेको संख्या बढ्न थालेको कैलाश रिसोर्ट सञ्चालक दीपक रावलले बताए । 


मध्यपहाडी राजमार्ग कालोपत्रेसँगै कर्णाली प्रदेश र अन्य तराईका जिल्ला जान सहज भएको छ ।

 

मध्यपहाडी राजमार्गअन्तर्गत करिब ६५ किलोमिटर अछाम खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।