close

ओखलढुंगामा विकास निर्माण : योजनैपिच्छे भ्रष्टाचार

ओखलढुंगामा विकास निर्माण : योजनैपिच्छे भ्रष्टाचार

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगामा सञ्चालित पूर्वाधार निर्माणको जिम्मा लिएका ठेकेदार र उपभोक्ता समितिका योजनामा भ्रष्टाचार भएको पाइएको छ । सडक, विद्यालय तथा विद्युत् विस्तारलगायत योजनामा कामभन्दा बढी भुक्तानी, नक्कली बिल बनाएर भुक्तानी तथा कामै नगरी डोर हाजिरी बनाएर भुक्तानी गरेको पाइएको हो । 


जिल्ला समन्वय समितिले जिल्लाका विभिन्न योजनाको अनुगमनमा गोलमाल भएको तथ्य फेला परेका हुन् । त्यसरी आर्थिक अनियमितता गरेका योजनामा विद्यालय भवन, सडक, विद्युत् विस्तार र भवन मर्मत रहेका छन् । 


प्राविधिक समेतको अनुगमनमा व्यापक भ्रष्टाचार भएको तथ्य भेटिएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए । उनले भने, उपभोक्ता र ठेकेदारका दुवै खाले काममा भ्रष्टाचार भएको पाइयो । प्राविधिकसमेत मिलेर कम काम गर्ने र बिल बढी बनाएर खाने गरिएको रहेछ । 


जिल्ला समन्वय समितिको कामै अनुगमन गर्ने भएकाले जनगुनासा आएका सबै योजनामा अनुगमन गरेर वास्तविकता बाहिर ल्याइने उनले जानकारी दिए । अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै श्रेष्ठले अनियमितता गरेका ठाउँमा विवरण माग गर्दा नदिने र छल्ने गरिएको दृष्टान्त सुनाए । 


पुसमा समन्वय समितिले विभिन्न ६ वटा योजनाको अनुगमन गरेको थियो । अनुगमन गरेका सबै योजनामा जनगुनासो आएको र अनुगमनमा भ्रष्टाचार भएको पाइएको छ । 

यसरी अनियमितता भएका योजनामध्ये मोलुङ वडा नम्बर ४ को घलेगाउँ—घट्टेगाउँ सडक निर्माणमा कामभन्दा बढी ४ लाख ३९ हजार रुपैयाँ भुक्तानी, सुनकोसी वडा नम्बर ५ को सिस्नेरी—फलाँटे सडकमा ६ लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको पाइएको छ । 


बढी बिल बनाएर प्राविधिकको समेत मिलेमतोमा भ्रष्टाचार गरिएको हो । त्यस्तै, चिशंखुगढी गाउँपालिका वडा नम्बर २ को सभाहल निर्माणमा लागत स्टिमेटभन्दा फरक काम गरेर ८ लाख १४ हजार रुपैयाँ बढी भुक्तानी लिएको भेटिएको छ ।

गणेश मावि ढुस्केको भवन निर्माणमा समेत कामभन्दा बढीको मूल्यांकन गराई ७ लाख २३ हजार रुपैयाँ बढी भुक्तानी लिएर भ्रष्टाचार भएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । 


यस्तै, विद्युत् विस्तार योजनामा समेत उपभोक्ता समितिले गरेका काममा भ्रष्टाचार भएको प्रतिवेदन छ । प्रतिवेदनअनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर १० को विद्युत् विस्तारको योजनामा समेत व्यापक अनियमितता भएको उल्लेख छ । 


उक्त आयोजनामा ९ मिटरको पोल ल्याउनुपर्नेमा ८ मिटरको पोल हालेको तथा फर्जी डोर हाजिरी तयार गरी रकम भुक्तानी लिएको खुलेको छ । तर, गाडिएका पोल विद्युत् प्राधिकरणबाट ल्याएको पाइएकाले उक्त योजनामा १३ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार भएको उल्लेख छ । 


सदरमुकाम छेवैको काफलबोट—होल्पु मिसन अस्पताल जाने सडक निर्माणमा समेत अनियमितता भएको पाइएको समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले दाबी गरे । छनोट भएका योजनामा कामै नगरी फर्जी बिल बनाई भुक्तानी लिएर सडक भने अन्यत्रै खनेको पाइएको उनले बताए । 


अनुगमनमार्फत अनियमितता देखिएका योजनाको विवरण र बजेटसमेत सार्वजनिक गरेर छानबिन तथा कानुनी कारबाहीका लागि सहज हुने समितिले जनाएको छ । 

योजनामा भएको भ्रष्टाचारको विवरण बाहिर आएपछि सञ्चार माध्यम र सरोकारवाला निकायले चासो दिने हुँदा कारबाही हुने अपेक्षा गरिएको प्रमुख श्रेष्ठले बताए ।