ताप्लेजुङ– ताप्लेजुको सिदिङ्वा गाउँपालिकाले पालिकामा सूचीकृत नभएका हेभी इक्युपमेन्टलाई आफ्नो क्षेत्रभित्रका कुनै पनि कामको जिम्मेवारी नदिने निर्णय गरेको छ । हेभी इक्युपमेन्ट सञ्चालकलाई यथाशक्य सूचीकृत हुन गाउँपालिकाले आह्वान गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार मेसिनको प्रकार, स्पेसिफिकेसन, उत्पादन गर्ने कम्पनी, प्रोप्राइटरको नाम, थर, ठेगाना र सम्पर्क नम्बरसहित हेभी इक्युपमेन्ट सञ्चालकले सूचीकृतका लागि पालिकामा आवेदन दिनुपर्नेछ ।
सूचीकृत दस्तुर पाँच हजार रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ । स्काइभेटर, ब्याक हो लोडरसहितका मेसिनलाई गाउँपालिकाले हेभी इक्युपमेन्टको सूचीमा राखेको छ ।
‘गाउँपालिकाभित्र गर्नुपर्ने विकास निर्माणसहितका सबै काममा पालिकामा सूचीकृत भएका हेभी इक्युपमेन्ट सञ्चालकलाई मात्र जिम्मेवारी दिने कार्यपालिकाको निर्णयअनुसार सूचीकरणका लागि आह्वान गरेका हौँ’, प्रमुख प्रशासकीय अधिकृत लिम्बूले भने ।
सूचीकृत भएकालाई समानुपातिक ढंगबाट काम गर्न पाउने अवसर सिर्जना गरिनेछ । आवश्यक जनशक्ति, कामको अवस्था र उपकरण व्यवस्थापनलगायतलाई आधार मानेर सूचीकरण भएका सबै हेभी इक्युपमेन्ट सञ्चालकलाइ समानुपातिक ढंगबाट जिम्मेवारी दिने गाउँपालिकाको तयारी छ ।