close

बुटवल-नारायणगढ सडक : २ वर्षमा २ प्रतिशत काम

बुटवल-नारायणगढ सडक : २ वर्षमा २ प्रतिशत काम

Trulli
ADVERTISEMENT

रुपन्देही - पश्चिम नेपालकै महत्त्वपूर्ण आयोजना बुटवल-नारायणगढ सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । शिलान्यास भएको झन्डै २ वर्ष पुग्नै लाग्दा पनि सडक विस्तारको प्रगति २ प्रतिशत हाराहारी मात्रै छ ।

 

प्रधानमन्त्री केपी ओलीले ८ चैत २०७५ मा शिलान्यास गरेपछि सुरु भएको सडक विस्तारको काम अहिलेसम्म २ प्रतिशत मात्र सकिएको हो । सडक विस्तार सुरु भएसँगै वन, विद्युत् टेलिकम, निकुञ्जजस्ता सरकारी कार्यालयहरूकै असहयोगले आयोजना अगाडि बढाउन अवरोध पारेको सरोकारवाला बताउँछन् । 

 

नारायणगढ-बुटवल सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल १ सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो ।

 

दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का सूचना अधिकारी तथा इन्जिनियर कृष्ण आचार्यले १५ मंसिरसम्मको अवस्था हेर्दा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको बताए ।

 

उनले भने, ‘साइट क्लियर नहुँदा कामले गति लिन सकेन । ठेक्का सम्झौता हँुदा रूख कटान, विद्युत् पोल स्थानान्तरणको काम सकिएको भए धेरै प्रगति हुने थियो । तर, केही पनि भएन ।’

 

उनका अनुसार २ वर्षको अन्तरालमा पटक-पटक काम रोक्नु परेपछि भौतिक प्रगति कम देखिएको हो । खासगरी सडक विस्तार क्षेत्रका रूख कटानको कामले समस्या सिर्जना गरेको छ ।

वन मन्त्रालयबाट स्वीकृति लिनेदेखि बिजुलीको पोल सार्ने कामले पनि सडक विस्तारमा अवरोध गरेको छ । सडक खण्डको उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले लामो समय अल्झिएको थियो ।

 

मन्त्रिपरिषद्ले कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूख काट्न सुरु गरिएको आचार्यले बताए । ‘सडकमा सानाठूला गरी ३३ हजार ८ सय ९२ रूख काट्न स्वीकृत पाएका थियौँ । अहिलेसम्म झन्डै आधा रूख काटिसकियो’, आचार्यले भने ।

 

यो सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ । आयोजनाका सूचना अधिकारी आचार्य यो सडकको ४२.७ किलोमिटर खण्ड ४ लेनमा विस्तार हुनेछ । सहरी क्षेत्रको करिब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६/६ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछन् ।

 

त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने ३ लेनमा मात्रै विस्तार हुनेछ । जटिल भूगोलका कारण दाउन्नेको सडक ४ लेनमा विस्तार गर्न नसकिने देखिएपछि ३ लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको उनले बताए । यो आयोजनाको म्याद सकिन अब २० महिना मात्र बाँकी छ ।

 

यो सडकमा ८७ मध्ये हालसम्म २८ वटा कल्भर्ट निर्माणको काम पूरा भइसकेको सूचना अधिकारी आचार्यले जानकारी दिए । गैँडाकोट-दाउन्ने खण्डमा १२ वटा ठूला पुल निर्माण हुने भए पनि एउटा पुलको मात्रै निर्माण सुरु भएको आयोजनाले जनाएको छ ।

 

सडक विस्तारका क्रममा गैँडाकोटबाट १४ किलोमिटर पश्चिमको भेडाबारीमा नाला तथा माटो फिलिङको काम भइरहेको छ भने सडक विस्तारका लागि ७५ जना कामदारले काम गरिरहेको आयोजनाले जनाएको छ ।

 

स्तरोन्नति सुरु भएसँगै सडक सीमाभित्र पर्ने रूख हटाउने प्रक्रियामै उल्झन हुनु, विद्युत्का पोल सडकभित्रै पर्दा काम गर्न ढिलाइ हुनु र कोरोना महामारीका कारणले पनि निर्माणले गति लिन नसकेको आचार्य सुनाउँछन् ।

 

कुल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने बाँकी पुँजी नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । 

 

आगामी २२ साउन २०७९ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ४२ महिनामै सम्पन्न गर्न २०७५ चैतमा शिलान्यास भएको यो सडक विस्तारको काम सरकारी निकायहरूबीच समन्वय नहुँदा समयमै पूरा नहुने पक्का छ ।


सडक निर्माणमा संलग्न मजदुरले व्यवस्थापन पक्षले दमन गरेको भन्दै आन्दोलनमा उत्रिँदा पनि केही दिन काम अवरुद्ध भएको थियो । उनीहरूले रामग्राम-११ मा रहेको बुटवल-बर्दघाट रोड प्रोजेक्टको साइड क्याम्प (सेक्सन २) मा विरोध कार्यक्रम चलाएका थिए । सडकको पश्चिम खण्डमा कार्यरत १ सयभन्दा बढी मजदुरले काम ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।

 

इन्जिनियर आचार्य कामको मूल्यांकन गर्ने बेला नभए पनि केही महिनाबाट ठेकेदार कम्पनीको काम गराइबाट समयभित्रै निर्माण सम्पन्न हुने अवस्था टाढिएको बताउँछन् । ‘प्रायः सबै काम मेसिनको माध्यमबाट गर्ने भएका कारण समयमै सकिने आश गर्न सकिन्छ तर भरोसाचाहिँ छैन’, आचार्यले भने ।

 

सडक विस्तारको प्रारम्भिक कामअन्तर्गत अहिले २ ठूला पुलसहित साना पुल, साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, माटो कटान गर्ने, रूख कटानलगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

 

नारायणगढ-दाउन्ने ६५ र दाउन्ने-बुटवल ५० किमिका २ खण्ड छन् । दाउन्ने पश्चिमको सडक विस्तारको काम पनि सुस्त गतिमै छ । दाउन्नेबाट बुटवलसम्मको ५० किलोमिटर सडक विस्तार २ प्रतिशतभन्दा कम भएको आयोजनाको दाउन्ने पश्चिम कार्यालयले जनाएको छ । ४ वटा ठूला र केही साना पुलको काम सुरु भएको, केही भागमा नाला तथा माटो कटानबाहेक अन्य काम नदेखिएको दाउन्ने पश्चिम कार्यालयका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए ।


पाण्डेका अनुसार १३ हजार रूख कटानको स्वीकृति प्राप्त गरेकामा हालसम्म ४ हजार १ सय रूख काटिएको छ । विद्युत् पोल सार्ने काम नै सुरु भएको छैन । ‘कोरोना महामारी र मजदुर आन्दोलनसमेत थपिन थालेपछि यो सडक खण्डको काम पनि अन्य सडकमा जस्तै ढिलाइ हुने देखियो’, पाण्डेले भने ।

 

४२ महिनामा सक्ने गरी शिलान्यास भएर पनि कछुवा गतिमा अगाडि बढेको नारायणगढ-बुटवल खण्डको काम चिनियाँ कामदारले कोरोनाविरुद्धको भ्याक्सिन लगाएर फर्केपछि सुरु भएको छ । तर, कति बेला निर्माण रोकिन्छ भन्ने यकिन नहुने इन्जिनिय बताउँछन् ।

 

अहिले बुटवलबाट नारायणगढसम्म पुग्न ३ घन्टा लाग्छ । यो सडक विस्तारसँगै कम्तीमा १ घन्टा देखि ५० मिनेटभित्रै पुग्न सकिने आयोजनाको दाबी छ । यसअघि विभागले यो सडक खण्ड ४ लेनको बनाउन झन्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

 

सडकको २-२ लेनको बीचको भागमा ‘ग्रिनरी’ का लागि खाली ठाउँ छाडिनेछ । ३ मिटरको यो भागमा बिरुवा रोप्ने तयारी छ । विस्तारित सडक दुवैतर्फ ७-७ मिटरको हुनेछ । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यसको चौडाइ ७ मिटरको हुनेछ ।

 

असोज मसान्तसम्म नवलपुर खण्डमा १.४२ प्रतिशत मात्रै भौतिक प्रगति भएको नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का सूचना अधिकारी इन्जिनियर आचार्यले जानकारी दिए । 


यो खण्डमा रूख कटानमा स्वीकृति नपाउँदा सडक विस्तारमा ढिलाइ भएको अधिकारीको दाबी छ । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री सडक निर्माणमा विभिन्न बहाना बनाएर ढिलासुस्ती हुन नहुने बताउँछन् ।

 

‘कामदार र सरोकारवालाबीचको सहकार्य आबश्यक छ । जनप्रतिनिधिको सहयोग मागे गर्न तयार छौँ तर काम रोकिनु भएन’, उनले भने ।