close

ओखलढुंगाका रुग्ण आयोजना : कतै अवरोध, कतै अलमल 

ओखलढुंगाका रुग्ण आयोजना : कतै अवरोध, कतै अलमल 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाका २ दर्जन रुग्ण सडक तथा निर्माण आयोजनाले अझै गति लिन सकेका छैनन् । निर्माण कम्पनीको लापर्बाही त कतै सरकारी निकायको बेवास्ताले त्यस्ता आयोजनाको काम अघि बढ्न नसकेको हो । 


यसअघि ठेक्का लागेर वर्षौं अलपत्र आयोजनाको अभिलेख तयार गरेर जिल्ला प्रशासन कार्यालयले सांसद, स्थानीय तहका प्रमुख र निर्माण व्यवसायीलाई राखेर काम सुरु गर्नेबारे छलफल आयोजना गरेको थियो । 


सर्वपक्षीय छलफलमा ठेकेदार कम्पनीले धमाधम काम गर्ने प्रतिबद्धता गरेको महिना दिन बितिसक्दा पनि काम अघि बढेको छैन । 


यसरी अलपत्र योजना ३ देखि १० वर्ष पुरानासमेत छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन २०६७ मा ठेक्का लागे पनि जग हालेर अलपत्र छ । थप काम अघि बढेको छैन । ठेकेदार अहिलेसम्म फर्केका छैनन् । 


त्यस्तै, कुइभीर स्वास्थ्य चौकी भवन निर्माणका जिम्मा पाएको सगरमाथा घिमिरे निर्माण कम्पनीले १० वर्षदेखि अलपत्रै छाडेको छ । मोलुङ खोला मान्देरदाेधान पुल ७ वर्षदेखि अलपत्र छ । 


यस्ता रुग्ण आयोजना पूरा गराउन ठेकेदारलाई प्रतिबद्धता जनाइए पनि काम अघि बढेको छैन । यी आयोजनामा ठेकेदारलाई अन्तिम पटक काम गर्न मौका दिइएको छ । 


काम नगर्नेमाथि कानुनी कारबाही गर्ने भनिए पनि ठेकेदारले टेरेका छैनन् । मोलुङ खोला मान्द्रेदोभान पुल लोकप्रिय राजेन्द्र जेभीले काम थाले पनि अहिले डिजाइनअनुसार काम हुन नसक्ने भन्दै अत्तो थापेर बसेको छ । 


त्यस्तै, दूधकोसी-एकबार सडकमा स्थानीयको अवरोध भनेर काम रोकिएको छ । यस्तो समस्या समाधान गर्न स्थानीय तहले चासो दिएको छैन । ‘स्थानीयको अवरोधले समस्या आएको छ’, हर्कपुर सडक आयोजना प्रमुख अरुण कर्णले भने ।


यस्तै, सोही कार्यालयबाट ठेक्का लागेको सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका जोड्ने ठोट्ने खोलाका फरक-फरक ठाउँका ३ वटा पक्की पुलको कामसमेत अलपत्र छ ।


ठेकेदारलाई ताकेता गरेर कामदार खटाउने काम सुरु भएको कर्ण बताउँछन् । केही काम गरेर बिल भुक्तानी लिने कामबाहेक निर्माणका काम सन्तोषजनक नभएको जनप्रतिनिधि नै बताउँछन् । 


राँगादीप-पात्ले सडक, ओखलढुंगा-निशंखे सडकलगायतका आयोजना पनि सुस्त छन् । ठेकेदारले म्याद थप्न र केही बिल भुक्तानी लिन काम गरेको देखाए पनि गति सुस्त छ । अलपत्र छाडिएकोमध्ये लिखु एकवार सडकको काम भने शुरु भएको छ । 

 

ठेक्का लिएर काम अलपत्र पारेका ठेकेदारमाथि स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको दबाबपछि काम सुरु भएको हो । अलपत्र आयोजनाको कामको प्रगतिबारे चाँडै अनुगमन गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए ।