close

लेलेकाे मनकामनामाई मन्दिर निर्माण १५ वर्षसम्म अधुरै

लेलेकाे मनकामनामाई मन्दिर निर्माण १५ वर्षसम्म अधुरै

Trulli
ADVERTISEMENT

ललितपुर - ललितपुरको गोदावरी नगरपालिका- ५ लेलेस्थित काभ्रेमा रहेको मनकामनामाई मन्दिर निर्माण १५ वर्षदेखि जारी छ ।  ०६२ मा जनश्रमदानबाट निर्माण सुरु गरिएको उक्त मन्दिर क्षेत्रका विभिन्न संरचना निर्माण भइरहेका हुन् ।


सो मन्दिर गोरखाको वैकल्पिक मनकामना माईका रुपमा स्थापना गरिएको थियो । १५ वर्षअघि लेलेको काभ्रेमा निर्माण उपभोक्ता समिति गठन गरेर जनश्रमदानबाट नगद तीन लाख अनि दुई लाख बराबरको जिन्सी सामान उठाएर मन्दिर निर्माणलाई अघि बढाइएको मनकामना फुल्चोकीमाई मन्दिर संरक्षण तथा सुधार समितिका अध्यक्ष राजेन्द्र सिलवालले बताए ।उनले भने, ‘२२ वैशाख ०६४ बाट मन्दिर उद्घाटन गरेर देवीको पूजा थाल्यौं ।’ 


त्यसताका मन्दिर निर्माण सुरु गरिए पनि पूर्णता दिन पर्याप्त रकम नहुँदा ०६८ मा भागवत लगाएरै त्यसबाट रकम संकलन गरेर केही मन्दिरमा खर्च गरेको सिलवालले जानकारी गराए ।


मन्दिर क्षेत्रमा वरपर लगाइएका पर्खालमाथि ढलान, तारजाली, बस्ने कुर्सी, धारा जडान  र मर्मत सुधार भइरहेको छ । विभिन्न संघसंस्थाले मन्दिर सुधार गर्न रकम सहयोग माग्दै जाँदा काठमाडौं न्युरोडका तथा काठमाडौं संकटा क्लबका पूर्वअध्यक्ष विन्देश्वर श्रेष्ठले पटक-पटक गरेर ४० देखि ५० लाख मनकामनामाई मन्दिरलगायत वरपर बाँकी रहेका आवश्यक काम गर्न सहयोग गरेको सिलवालले बताए ।

 

सो मन्दिरमा पुग्ने सिँढी निर्माणका लागि गोदावरी नगरपालिकाले गत वर्ष १० लाख र यसैगरी यस वर्ष पनि मन्दिर आसपासमा रहेको पोखरी निर्माणका लागि नगरपालिकाले १० लाख सहयोग गरेको छ । 

 

मन्दिर क्षेत्रमा जनश्रमदान, भागवतबाट उठेको केही रकम, नगरपालिकाले सहयोग गरेको रकम र व्यक्तिले दिएको रकम गरेर हालसम्म एक करोड बढी खर्च भइसकेको मन्दिरका संस्थापक अध्यक्ष ठूलाबहादुर तामाङले बताए । उनले भने, ‘मनकामनामाई मन्दिर रहेको धार्मिक वनअन्तर्गत ३० हेक्टर जमिनमा हाल वृद्धाश्रम, पोखरी र उद्यान निर्माणको कामसमेत भइरहेको छ ।

 

कोरोना महामारीअघि यो स्थानमा प्रत्येक शनिबार र बिदाका दिन हजारौं भक्तालु देवी दर्शन, वनभोज, भ्रमण र वरिपरि रहेका बस्ती एवं वनजंगल सयरमा आउँथे । काभ्रेका केही फाँटमा लगभग एक सय ५० देखि दुई सयसम्म निजी तथा सार्वजनिक सवारीसाधनले भरिन्ने ।’


हाल बढ्दो कोभिड महामारीले कसैलाई पनि नआउन अनुरोध गरिएको छ । घुम्न आउनेबाट उठेको रकम भने मन्दिरमा आवश्यक काम र सामान, भजनकीर्तन, वार्षिक कार्यक्रम तथा  बाजागाजामा खर्च हुने गरेको तामाङले जानकारी गराए । मनकामनामाई मन्दिर परिसरमा देवीका अलवा गणेश, कुमार, नारायण, राधाकृष्ण, दक्षिणकाली आदि देवीदेवताका मूर्ति राखिएका छन् ।


लगनखेलबाट १५ किलोमिटर टाढा रहेको यो मन्दिर दर्शन गर्न गोदावरीको फुल्चोकी हुँदै वनैवन हिँडेर लगनखेल-चापागाउँ बस लेले हुँदै जान सकिन्छ । यस्तै, ललितघुम्तीको सडक लेलेभन्ज्याङ हुँदै हिँडेर वा गुडेर र लगनखेल-बडिखेल यातायात हुँदै लेलेभन्ज्याङ सडक हिँडेर वा गुडेर दर्शन गर्न जान मिल्छ ।

 

कामका सिलसिलामा स्वदेश बाहिर गएका मानिसले एक पटक मनाकामनाईको दर्शन गरेर जाँदा सोचेका कुरा सबै पूरा भएर पुनः अर्काे पटक दर्शन गर्न आउने गरेको स्थानीय राजेन्द्र पौडेलले बताए । ०६२ अघि सन्तबहादुर नगरकोटीलाई मनकामनामाई मन्दिर बनाउनू भन्ने पटक पटक सपना भएपछि यसलाई अघि बढाइएको स्थानीयको मत छ ।


मनकामना माई क्षेत्रको विकास तथा पर्यटन प्रवर्द्धनका लागि सिँढी तथा पोखरी निर्माण गर्न १०/१०  लाख नगरस्तरीय बजेटको व्यवस्था गरिएको र आगामी दिनमा पनि मनकामन-फुलचोकी  क्षेत्रको थप उन्नयनका लागि स्थानीय निकायबाट थप योजना ल्याइएको छ । आवश्यक योजना प्रदेश तथा अन्य निकायसँग पनि माग गरिने नगरपालिकाका प्रवक्तासमेत रहेका वडा-५ का वडाध्यक्ष मिलन सिलवालले बताए ।