म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले मौवाफाँटमा १० शय्याको अस्पताल बनाउने भएको छ । संघीय सरकारको प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने योजनाअनुसार रघुगंगाले पालिका केन्द्रसमेत रहेको मौवाफाँटमा बनाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले अस्पताल भवन बनाउने स्थान छनोट गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । कुल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माण गर्न चालू आवमा ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । यसअघि संघीय सरकारमार्फत रघुगंगा-१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापित गरी अस्पताल निर्माण गर्ने योजना स्वीकृत भएको थियो ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत बेग स्वास्थ्य चौकी पुनर्निर्माण काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त देखिएन,’ अध्यक्ष भण्डारीले भने, ‘अधिकांश वडाबासीलाई अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिका केन्द्रमा निर्माण गर्ने निर्णय भएको हो ।’
गाउँपालिकाले यसअघि वडा-१ बेगको बाँदुकमा स्वास्थ्य इकाइ स्थापना गरिसकेको छ । बेगखोलामा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि १ करोड ३५ लाख बजेटबाट पुनर्निर्माण प्राधिकरणमार्फत ठेक्का सम्झौता भइसकेको छ ।
बेगका बासिन्दाले भने ठाउँ तोकेर आएको योजना स्थानान्तरण गरिएकामा असन्तुष्टि र आपत्ति जनाएका छन् । यस्तै, रघुगंगाले सार्वजनिक सूचना जारी गरेर कोरोना फैलिन नदिन बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थलको भ्रमणमा नआउन आग्रह गरेको छ ।
समुदाय स्तरमा कोरोना फैलिएका जिल्लाबाट पालिकामा सञ्चालित विभिन्न आयोजनामा काम गर्न, टोड्के, रुइसेलगायत पर्यटकीय स्थल घुम्न आउनेबाट जोखिम बढेको जनाएको छ ।
आयोजना र ठेकेदारलाई बाहिरबाट कामदार नल्याउन र ल्याइसकेकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर मात्र काममा लगाउन आग्रह गरेको छ । रघुगंगा जलविद्युत् आयोजनाका कर्मचारी र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयले जोखिम बढेको गुनासो गरेका थिए ।
महामारीको जोखिमका कारण तिहारमा देउसीभैलो नखेल्न र अनावश्यक आउजाउ नगर्न प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीद्वारा सूचना जारी गरेका छन् ।
‘कोरोना फैलिन र जोखिम हुन नदिन व्यक्तिगत सतर्कता एवं स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाका लागि पालिकाबासीलाई आग्रह गरेको छ । सचेतना अभिवृद्धि, आउजाउलाई व्यवस्थित, होम क्वारेन्टाइन/आइसोलेसन बसेकाहरूको नियमित अनुगमन र सहजीकरणका लागि स्वयंसेवा गर्न इच्छुकलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं’, सुवेदीले भने ।