गुल्मीको बीच भाग भएर १३२ केभिए विद्युत प्रसारण लाइन विस्तारको काम सुरु भएको छ । कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिवाङसम्म ८६ किलोमिटर प्रसारण लाइन विस्तारको काम भइरहेको हो ।
चार जिल्लामा पाँच वटा सवस्टेसन निर्माण हुँदै छन् । त्यसमध्ये गुल्मीमा दुइटा सवस्टेसन निर्माण हुनेछन् । कपिलवस्तु र अर्घाखाँचीका सवस्टेसन निर्माणको काम सकिएको बुर्तिवाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण आयोजनाले जनाएको छ । प्रसारण लाइन विस्तारको काम पनि सँगसँगै भएकाले केही समयमै दुई स्टेसनमा ट्रान्समिटर चार्ज गरिनेछ ।
अहिलेसम्म ७८ वटा प्रसारण लाइनका टावर निर्माण गरिएको आयोजनाका प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए । अहिले अर्घाखाँचीको ठाडासम्म प्रसारण लाइन विस्तारको काम भएको छ । कोरोना संक्रमणका कारण आयोजनाका कामदारहरू घर गएकाले निर्माण अगाडि बढाउन नसकिए पनि अहिले पुनः सुरु भएको चौधरीले बताए ।
चार जिल्लामध्ये गुल्मीमा ८० करोड बढीका दुई विद्युत् सवस्टेसनको काम सुरु भएको छ । रेसुंगा नगरपालिका वडा– ७ उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी काठमाडौंले सवस्टेसन निर्माणको काम गरिरहेको छ भने मुसिकोट नगरपालिका–१ पौदी अमराईमा ३९ करोड ९६ लाखको लागतमा मुडभरी एन्ड जोशी-आर.जे. कन्ट्रक्सनले सवस्टेसन निर्माणको काम गरिरहेको बुर्तिवाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण लाइन आयोजना प्रमुख मनोजप्रसाद चौधरीले जानकारी दिए ।
डेढ वर्षमा काम सक्ने गरेर निर्माण व्यवसायीसँग सम्झौता गरिएको छ । पौदी अमराईमा गत फागुनदेखि जमिन सम्याउने र अन्य फाउन्डेसन निर्माणको काम भइरहेको छ । गुल्मीको रेसुंगा नगरपालिका–७ उनायचौरमा सम्झौता भएको करिब एक वर्षपछि काम सुरु भएको छ ।
अनियमित विद्युत्को समस्या भोग्दै आएका गुल्मेलीले १३२ केभिए प्रसारण लाइनका दुइटा सवस्टेसन निर्माण गरिएपछि विद्युत् उपलब्धता सहज हुनेछ । १३२ केभिए प्रसारण लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङसहित पाल्पा र पर्वतलाई समेत फाइदा पुग्ने पूर्वमन्त्री गोकर्ण विष्टले बताए ।
‘यो १३२ केभिए प्रसारण लाइनले गुल्मी र बाग्लुङ भएर बग्ने बडीघाट खोलामा उत्पादन भएको विद्युत् र प्रस्तावित उत्तरगंगा पावर हाउसलाई राष्ट्रिय प्रसारणसँग जोडेर औद्योगिक क्षेत्रसम्म विद्युत् विस्तार गर्ने उद्देश्य रहेको छ’, विष्टले भने । आफू ऊर्जामन्त्री भएका बेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेको बताउँदै समयमै काम गर्न पनि केन्द्रदेखि आयोजना स्थलसम्म प्रयत्न गरिरहेको उनको धारणा छ ।
उनायचौर सवस्टेसनको शिलान्यास गर्दै रेसुंगा नगरपालिका प्रमुख डिल्लीराज भुसालले जिल्लाको मध्य भागबाट जाने १३२ केभिए विद्युत् प्रसारण लाइनले सबैलाई खुसी बनाएको बताए । दुई सवस्टेसन निर्माण र प्रसारण लाइन विस्तारको काम सकिएपछि जिल्लाबासीले भोग्दै आएको अनियमित विद्युत्को समस्या अन्त्य हुने भुसालको भनाइ छ । जनताको आशा पूरा गर्न निर्माण व्यवसायीले समयमै काम गर्न गर्नुपर्नेमा उनले जोड दिए ।
बुटवल योगीकुटीको १३२ केभिएको सवस्टेसनबाट ३३ केभिए विद्युत् प्रसारण लाइनमार्फत जिल्लामा विद्युत् उपयोग र विस्तारको काम हुँदै आएको छ । लामो प्रसारण लाइन हुँदा जिल्लामा विद्युत् अनियमित हुने, धेरै ठाउँमा बिग्रने समस्याले उपभोक्तालसँगै विद्युत् प्राधिकरणसमेत समस्यामा पर्ने गरेको छ ।
अनियमित विद्युत्को विषयलाई लिएर जिल्लामा थुप्रै आन्दोलन पनि भए । अनियमित विद्युत्को प्रमुख कारण ३३ केभिए प्रसारण लाइन हो । निर्माणाधीन १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइनको काम सम्पन्न भए जनतालाई नियमित विद्युत् सेवा प्रदान गर्न सहयोग हुने विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।
‘विद्युत्को भरपर्दो माध्यम १३२ केभिए विद्युत् लाइनको सवस्टेसन निर्माण र प्रसारण लाइन विस्तारले स्थानीयसँगै कार्यालय पनि खुसी नहुने कुरै भएन ।’